
काठमाडौँ ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।
“बेलुकीको लेट आवरको अपरेसन फ्री अफ कस्ट हुनुपर्छ । यो बस चढ्नेहरू अघि यहाँ तथ्यांक पेस गर्दाखेरि सेक्युरिटी गार्ड अनि अन्य अलिकति लोबर लेबलको म्यानपावरले चढ्दो रहेछ,” महर्जनले भने, “भनेपछि उहाँहरूलाई महानगरपालिकालगायत काठमाडौं भ्यालीको नगरपालिकाहरूले बेलुकीको बस राइड फ्री दियो भन्दै एउटा उपहारको रूपमा उहाँहरूले ग्रहण गर्नुहुन्छ ।”
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव उनको छ । त्यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाइ छ ।
“म प्रस्ताव गर्न चाहन्छु कि यो यसको जति खर्च लाग्छ त्यसमा हामी १८ वटा पालिकाहरू मध्य– १८ वटा पालिकाहरू हामी संलग्न हुने । त्यसमा काठमाडौं र ललितपुरले अलि ठूलै भारी हामी बोक्न तयार छौँ,” महर्जनले भने, “यो यति बोकेर यसलाई फ्री गर्दिन पायौँ भने मलाई जहाँसम्म लाग्छ यो वास्तवमै एउटा ट्रान्सपोर्टेसन सेक्टरमा छलाङ मारेको ठहरिन्छ ।”
महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताए । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ ।




