
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा रातिसमेत विस्तार गर्नुपर्ने बताएकी छन् ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा डंगोलले स्थानीय सरकारको महत्त्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताइन् । रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका रातिसमेत चलायमान बन्ने बताइन् ।
“स्थानीय सरकारको मूल दायित्वहरू जे-जे छन् त्यसमध्ये एउटा महत्त्वपूर्ण दायित्व स्थानीय यातायात त्यसको विस्तार गर्ने त्यो पनि दिउँसो मात्रै होइन है । अब राति पनि हाम्रा यातायात चल्छ,” डंगोलले भनिन्, “काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन अब राति पनि चलायमान हुन्छ ।”
डंगोलका अनुसार, वैशाख १ गतेदेखि परीक्षणका रूपमा बूढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उनले जानकारी दिइन् ।
सार्वजनिक यातायातलाई आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।



