प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ । यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा प्राधिकरणले विभागलाई पत्र पठाउँदै विभागसँग औपचारिक राय माग गरेको हो ।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति मन्त्री श्रेष्ठले गम्भीर चासो भएको जनाएका थिए ।
मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशनसमेत दिएका थिए ।


