
काठमाडौं।सरकारले आगामी माघ १ गतेदेखि लागु हुने गरी ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै त्यसको कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पत्र जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित यी सूचनाहरू सोही बमोजिम कार्यान्वयन गर्न सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई सूचित गरेको छ ।
नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को अधिकार प्रयोग गर्दै सरकारले नगद कारोबारको सीमा तोकेको थियो थियो । नयाँ व्यवस्थाअनुसार अब कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु वा अन्य कुनै पनि कारोबार गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत वा बैंकिङ उपकरण (चेक, ड्राफ्ट आदि) प्रयोग गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत वा विदेशी मुद्रा सटही गर्दा, बैंकबाट लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्दा र वित्तीय संस्थाहरूबीच हुने नगद कारोबारमा भने बैंकिङ प्रणाली अनिवार्य छैन ।
