काठमाडौं । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
यसपाली ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।
१९९० साल माघ २ गतेको महाभुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । नेपालमा मात्रै साढे आठ हजार जना भन्दा धेरैको ज्यान लिएको १९९० सालको भूकम्पबारेमा धेरै अभिलेखहरु पाइदैन । सुनिदै र सुनाउँदै आएका जानकारीका आधारमा त्यो विपद् निकै भयानक थियो ।
अहिलेको पुस्ताले भोगेको विनासकारी भूकम्प २०७२ सालको हो । यो भूकम्पमा पनि झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताउनुहुन्छ । ‘विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ ।
भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उहाँको जोड छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा.रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न सकिँदैन तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिने उहाँको भनाइ छ ।
पाल विश्वका अरु देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं स्थानमा रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराब हुँदा हिमालय क्षेत्रको जमिनमुनी शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरु बताउँछन् ।
एक पटक ठूलो भूकम्प गएपछि त्यहाँ शक्ति संचय हुन समय लाग्ने विज्ञहरु बताउँछन् । विज्ञहरुले नेपालको पश्चिमी क्षेत्रमा भूकम्प नगएको लामो समय भएकोले उच्च जोखिम रहेको बताइरहँदा पछिल्ला केही वर्षदेखी पश्चिमी क्षेत्रमा भुकम्प जाने क्रम बढेको छ । जाजरकोट, डोटी, बझाङ लगायतका जिल्लामा गएका भूकम्पले पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम रहेको जनाउँछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा।भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिनुभएको छ ।
यसैविच गएको आइतवार बसेको विपद् राष्ट्रिय परिषद्को १६ औं बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चातको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।





