
काठमाडौं । लीलाध्वज थापा साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बरिष्ठ साहित्यकार पवन आलोक लिलाध्वज थापा सम्मानबाट सम्मानित भएका छन् ।
एक बृहद् कार्यक्रमका बिच प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले नगद रु.१०हजार सहित दोसल्ला तथा सम्मानपत्रद्धारा आलोकलाई सम्मानित गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वको चर्चा गर्दै साहित्यकार एवं दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले बहुमुखी प्रतिभाको रुपमा पवन आलोकको चर्चा गरे ।
“नियात्रा,कथा,कविता र निबन्ध सबै विधामा कलम चलाउने पवन आलोक चारैतिर आवद्ध व्यक्तित्व समेत हो । अभिव्यक्ति द्धैमासिकका प्रधान सम्पादक समेत रहेका उनका झण्डै डेढदर्जन कृति प्रकाशित भैसकेका छन् । पुरस्कार र सम्मान समेत थुप्रै प्राप्त गरिसकेका आलोकले योगमायाको नाममा पुरस्कार समेत स्थापना गरेका छन् ।”पन्तले भने ।
सम्मानित स्रष्टा आलोकले चर्चित उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा स्थापित सम्मान ग्रहण गर्ने अबसर पाएकोमा आभार व्यक्त गरे । “साहित्य,कला,संस्कृति भनेको देशको गौरव हो,पहिचान हो । त्यसैले साहित्यलाई कम आँक्न हुँदैन् ।” प्रतिष्ठानले यो सम्मान प्रदान गर्न आफुलाई छानेकोमा पवन आलोकले सबैप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा डा. गोविन्दमान सिह कार्की,लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । सभाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सम्मानित स्रष्टालाई वधाई दिंदै प्रतिष्ठानको गतिविधि वारे समेत प्रकाश पारे ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षता र उत्तम विचारको सञ्चालनमा भएको उक्त कार्यक्रममा दर्जनौ स्रष्टाहरुले कविता,मुक्तक,लघुकथा लगायतका आफ्ना रचनाहरु पनि बाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा रचना वाचन गर्नेहरुलाई सम्मानपत्र वितरण गरिएको थियो ।


