
शर्मिला कार्की ” शरु”
“हाकिम ”
भोकलाई सोधें
“ओ समस्याको जरा !
तेरो आविष्कार कसले गरेको हो ?”
शान्त भएर जवाफ दियो
” जीवितहरूको जीवनमोहले गर्दा “
समस्याहरूलाई सोधेँ “
किन यति धेरै सकस बन्छौ तिमीहरू ?
तिनले जवाफ दिए-
” तिम्रा आफ्नै रहरहरूका बन्धक छौं !”
रहरहरूसँग जिज्ञासा राखें-
” किन पलाउँछौ एकपछि अर्को तरेली बनेर ?”
एकै स्वरमा सबैले हतारिएर भने-
मनले घँचेटिदिन्छ अनायास,हामीलाई
बाध्यता छ!”
मनसँग सोधेँ –
” किन जबर्जस्ती पठाउँछौ रहरहरूलाई ?”
मनले सफाइ दियो-
“तिनीहरू आफैं पलाउँछन् मेरो विशुद्ध क्षेत्रमा एकाधिकार जमाएर
थप साथीहरूको भीडसँग देखा पर्छन्
ममता,रोदन,करुणा,प्रीति,महत्वाकांक्षा र
अझै कोकोहरू लिएर
उकुसमुकुस हुन्छ मेरो परिसर
अनि नपठाएर कसरी थाम्नु ?”
मैंले आलोपालो सबैलाई नियालें
ममता र प्रीति
सर्वाधिक आकर्षक देखें
मेरो मन पनि
यिनीहरूबाटै गाँजिएको रहेछ
ममा मनको लगाम कसिदिनेहरू
यिनै रहेछन् ।
सबैलाई पहिल्याउँदै हेरें
भोक त अघिल्लो लहरमा बसेर
यी सबैलाई जीवन्त राख्न
आफू बल्झिरहेर
मलाई कतै कारखानाहरूमा
कतै खेतबारीमा
कतै विदेशमा खटाइरहने
जीवनलाई चल्न लगाइरहने
हाकिम पो रहेछ !









