
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मिठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिँदै आइएको छ ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रही आएको छ ।




