
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सद्भभाव कायम राख्न अपिल गरेका छन् ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्वेदनशील बेलामा शान्ति सुव्यवस्था कायम राख्न कार्कीले अपिल गरेका हुन् ।
सोमबार विज्ञप्ति जारी गर्दै उनले घटनामा निधन भएका युवाको परिवारमा समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
“यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिकलाई संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गर्दछु,” मुख्यमन्त्री कार्कीले भनेका छन् ।
सदियौँदेखि नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएको परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा कार्कीले अनुरोध गरेका छन् ।
कोसी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको जनाउँदै उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको पनि जनाएका छन् ।



