
लघुकथा प्रदीप सापकोटा
‘समिर कता छौं ।मलाई लिन नयाँबजार आउ न । मेरो काम पर्यो।’ उसले फोनमा यति वोली । उसको कुनैपनि कुरा टार्ने हिम्मत थिएन समिरसँग । त्यसैले किन,के का लागि उसले सोधेन । प्रेम सम्बन्ध थियो उनीहरुबीच । त्यसैले समिर आफैंलाई भन्दा विश्वास गथ्र्याे रेखालाई । हान्नियो बाइकमा नयाँबजारतिर । रातो मिनिस्कर्ट र कालो चश्मामा परी झैं उभिएकी थिई । ‘एअरपोर्ट नजिकसम्म जाउँ । विदेशमा भएको मेरो साथीले सामान मगाकी छे । एउटा साथी जाँदैछे आज । त्यहि भएर उसलाई सामान दिनु छ ।’ उसले सर्सर्ती बोल्दै बाइक चढी ।
होटल एयरपोर्ट नजिक पुगेर उसले बाइक रोक्न भनि । समिर बाइक पार्किङ गर्नथाल्यो । रेखा उसँग छेलिएर फोनमा कुरा गर्न थाली । ‘समिर एकछिन यहिं बस्दै गर ल म सामान दिएर आउँछु ।’ उ सरासर गल्लीतिर छिरी । समिर गर्मीलाई छेलेर ओझेल परेको एउटा पसलको पेटीमा बस्यो । पन्ध्र मिनेट वित्यो,आधा घण्टा वित्यो तर आइन ।
उसले रेखालाई फोन लगायो । उठाइन । मेसेज आयो ‘धेरै जना रहेछन् यहाँ चिनापर्चीसँगै चिसो पिउन थालेका छौं अब पन्ध्र मिनेट है ल्पिज।’ समिर आशंकाले घेरियो । सामान दिन भन्थि,झोला केहि थिएन । आ के अनावश्यक सोचिरा मैले पनि । सुनका गरगहना वा अरु सानो केही हुनसक्छ । यस्तै यस्तै । फेरी उसको मनले रेखाप्रति प्रश्नचिन्ह खडा गर्र्यो। उसले गोजीवाट मोवाइल झिकेर मेसेज गर्र्यो– ‘तिमी पठाउ गरेर घर जाउ है । म अर्जेन्ट फोन आएकोले अफिस लागें ।’ रेखा गएकैतिर विस्तारै कदम बढायो । अलिक पर पुगेपछि पर्खालनजिक छेलिएर आँखा परसम्म विछ्याइरह्यो । एक केटासँग देखिई उ । अनि अंकमाल गर्दै केटाले भन्यो ‘आजको यो मधुर पलको लागि धन्यवाद प्रीया ।’ उसले हातमा केही थम्याएर छुट्टियो ।
यो दृश्यले समिर छाँगावाट खसेको जस्तो भयो । सामान पुर्याउने बहानामा उसको चर्तिकला अर्कै रहेछ । उफ् ! जसलाई मैले आफैंलाई भन्दा बढी माया र विश्वास गरें । उ त अघोषित बेश्या पो रैछे । म भ्रममा पो रहेछु । घृणाका तिर रेखातिर हान्दै समीर बाइकमा हुइँकियो ।









