
चर्चामा पुस्तक
दृष्टिबोध
कथाकार गङ्गा सुवेदीको छैठौं कथाकृतिभित्र मानिसका संस्कारका विषयहरु छन् । मानिसका एकअर्कालाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणहरु छन् । नारी पुरुषका सम्बन्धका कुरा छन् । पुरुषको महिलामाथि हुने शोषण र उत्पिडनका रुपहरु चित्रित छन् । नारीवादी कथाहरु छन् । हिंसाका विविध रुपहरु कथानक बनेर आएका छन् । यौन हिंसाका विकराल घट्नाहरु भैरहेको हाम्रो समाजको वर्तमान समयका विद्रुप यौन हिंसाका विरुद्ध कथाहरु उधिनिएका छन् । बेचिएका चेलीहरुका दर्दनाक कहानी झुल्किन्छ कथामा । यति भएपछि भन्न सकिन्छ,कथाहरु यथार्थवादी धारमा सलल बगेका छन् । कृतिमा समावेश २४ थान कथाहरुले सामाजिक यथार्थवादी धारलाई बोकेका छन् ।
सम्बन्धका कुरा ,मान्छेका जीवनका त्रासका अवस्था,कुप्रथा मात्र नभएर कोरोना कहरका कथा पनि कृतिभित्र समावेश गरिएका छन् । राजनीतिका विकृत रुप पनि कथामा पढ्न सकिन्छ ।संवेदनशील बनाउँछ । पाठक घोत्लिन्छ कथामा । कुनै कुनै कथाहरु अत्यन्त ह्रदयस्पर्शी लाग्छन् ।
सरल भाषामा आएका कथाहरु मध्यम आयाममा लेखिएका पाइन्छन् ।
दृष्टिबोध कथासङ्ग्रहलाई चेतना संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ ।
मभित्रको ऊ
हरि थापा साहित्यका विविध विधामा कलम चलाउँछन् । सयात्रामा उनको उल्लेख्य उपस्थिति छ । यसकृतिभित्र समयका वाछिटाहरु छन् । वर्तमान समयको जिउँदो जाग्दो तस्वीरका कथानकताले बुनिएका छन् कथाहरु । कृतिभित्र तेह्रथान कथाहरु समावेश गरिएका छन् । नेपाली समाजको वर्तमान अवस्था कथाहरुले थाहा दिन्छन् । फेसवुक लगायतका सामाजिक सञ्जालले ध्वँस पार्दै लगेको कथा बडो मार्मिक छ । सामाजिक भावका कथाहरु छन् । पारीवारिक सम्बन्ध,सुखदुख,विभिन्न समस्याहरुले ग्रस्त पात्रका मनोदशा कथाहरुले उधिनेका छन् । कथामा बेइमानी मात्र नभएर इमान्दार पात्रका चरित्र चित्रण पनि पढ्न सकिन्छ । आफ्नै सन्तानबाट पीडा पाउने अभिभावकको मनोदशा,नारीपुरुषबीच हुने हाम्रा विभिन्न विभेद,माया प्रेम,नाता सम्बन्ध,दुव्र्यसन लगायतका विषयवस्तुलाई कथाकार थापाले कथानक बनाएर सुन्दर रुपमा कथाहरु बुनोट गरेका छन् । यति भएपछि भन्न सकिन्छ । कथा र कथाका पात्र हाम्रै समाजका उपज हुन् । थापा यथार्थवादी कथाकारको रुपमा कृतिमा प्रस्तुत भएका छन् ।
आयामका दृष्टिले प्रायः कथाहरु मध्यम आयतनका छन् । कथाका पात्रहरुको सम्बाद , कथा प्रस्तुति सरल र सहज भाषाशैलीमा छ । कथा पढ्दा पाठकलाई आफ्नै कथा महसुस हुन्छ ।
मभित्रको ऊ कथासङ्ग्रहलाई स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।
विष्णु के.सी.को बालसाहित्यकारिता विश्लेषण र मूल्याङ्कन
सञ्चार र साहित्यमा सक्रिय स्रष्टा तीर्थकुमारी लामा । उनले अनुसन्धानमुलक समालोचना र कविता सिर्जनामा संलग्न विष्णु के.सी.को बारेमा त्यसमा पनि उनको बालसाहित्यमा गरिएको योगदानको विश्लेषण र मूल्याङ्कन गर्ने लामाको प्रयास छ । के.सीं जसका १६ वटा बालसाहित्यका कृतिहरु निस्किसकेका छन् ।
शोधकृतिको रुपमा रहेको यो कृतिले के.सी.को बालसाहित्यकारिताका विभिन्न विधागत विश्लेषण गर्ने प्रयास गरेको छ । हरेक विधाको परिभाषावाट थालनी गरिएको यसमा विधागत ज्ञान रचनाको सैद्धान्तिक पक्षको जानकारी पनि दिइएको छ ।
विष्णु के.सी.को बालसाहित्यिकारिता विश्लेषण र मूल्याङ्कनलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.४००। राखिएको छ ।



