सुमन सौरभ
साइड इफेक्ट
अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाको पक्षमा फैसला दियो ।
मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन् -“लौ मेरो मात्र होइन यो,तिम्रो पनि डिएनए हो ,तिमी पनि पूरा गर आफ्नो जिम्मेवारी।”
बा मलाई च्यापेर लुरुलुरु आमाको पछि लागे । धेरै पछि बा र आमा एकै छतमुनि बस्न थाले,मैसँगै ।
मेरो हात बाको जस्तो थियो,खुट्टा आमाको जस्तो । नाक बाको जस्तो,आँखा आमाको जस्तो ।ओठ बाको जस्तो,मुस्कान आमाको जस्तो।मेरो व्यक्तिगत भन्नु त के नै थियो र?उनीहरुको जेनेटिक् रेप्लिकेसन न थिएँ,जस्तो उनीहरु,त्यस्तै म ।
उनीहरुको सेरोफेरोमा हुर्किँदै गएँ । उनीहरुले आफ्नै बाटो हिँडाउँदै लगे । बाले दरिलो सुरक्षा दिए,आमाले न्यानो स्नेह दिइन् ।
जे जानेको छ त्यही गर्ने त हो,आफूले जस्तै स्कूलको शिक्षा दिए,संसारलाई बुझ्ने दृष्टिकोण दिए । पछिसम्म कामलाग्ने तालिम दिए ।
जे जति दिन सकिन्छ सबै दिए,जग्गा दिए,घर दिए,पैसा दिए,सुन दिए । दिनुपर्ने नियम थियो सामाजिक र नैतिक पनि । अवसर दिए,भरपुर भविष्य दिए ।
पहिला त अति खुशी थिएँ म। अब न खुसी भएर साध्य,न दुःखी भएर ।
आफ्नै सरह डिएनए दिएजस्तै,आफ्नै सरह हातखुट्टा दिएजस्तै,नाक,आँखा दिएजस्तै,नदिउँ भन्ने लाख अभिप्रायमा पनि कठै,आफूमा अन्तरनिहित स्वाभाविक र अवश्यम्भावी मृत्यू पनि दिएका रहेछन् । यो चाहिँ पटक्कै चित्त बुझेन ।
फेरि उही अदालत गएँ,उजुरी गर्न । तर अदालतले फिराद लिनै मानेन र फकाएर पठायो “जीवन पाएपछिको साइड इफेक्ट हो मृत्यू,हामी केही पनि गर्न सक्दैनौं । त्यो जेनेटिक् हो,जन्मदाताबाट आउँछ,आउँछ।”