आज संविधान दिवस ।
नेपाली जनताको सातदशक लामो संघर्ष, वलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स.२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही जनताका पक्षमा आधारभूत मानव अधिकारका मूल्य र मान्यताहरु प्रत्याभूत गरेको संविधान बेहोरेका हामी आम नेपाली ।
विश्वकै कान्छो संविधान हाम्रो । तसर्थ,अन्यत्रका अनुभव,भोगाइ सबैको आधारमा उत्कृष्ट बनाउने प्रयास अनुरुप आएको संविधान यो । तर व्यवहारिक कार्यान्वयनको फितलो अबस्थाले आक्रान्त छन् नेपाली जनता । उनीहरुको भोगाइको वास्तविकतालाई ऐना जस्तै छर्लग पारिदिएको छैन् र ? हामी लोकतन्त्रका सच्चा हिमायती अनि हाम्रा दलहरुविच आन्तरिक लोकतन्त्रको शैली र सँस्कार छ त ? हाम्रो राजनीतिक मूल नेतृत्वले यस तर्फ सोच्न पर्दैन ?
बेथितिका ठूला ठूला प्रकरणहरुमा राजनीतिक दलका नेताहरु विवादित हुँद्रै जानु,आन्तरिक सुशासनको प्रत्याभूति दलहरुमा नहुनु,नागरिक हैन् जनता विभिन्न पार्टीका झोले कार्यकर्तामा रुपान्तरित हुँदै जाँदा खवरदारी गर्ने तप्का फितलो हुनु,दल र तीनका नेता अनि जनप्रतिनिधिहरु एवं राज्यको उपल्लो निकायमा रही बर्हिगमित भीआइपीहरुलाई दिइने सेवा र सुविधाहरु दिने कानूनहरु निर्माण हुनु जस्ता कारणले मूलुकमा लोकतन्त्र प्रतिको वितृष्णा नफैलेला भन्न सकिने अवस्था देखिंदैन । जनताको हीत भन्दा दलगत हीतको पक्षपोषणले जनतामा निराशा नछाउला भन्न सकिन्न । देश र जनताको हीत र राजनीतिमा सदियौंदेखि व्याप्त राजनीतिक अस्थिरताको निवारण गर्न तालमेल,गठबन्धन र एकीकरण हुनुपर्नेमा सत्तास्वार्थ,प्रधानमन्त्री को बन्ने जस्ता कुरामा गरिएका गठबन्धनहरु र लामो समय टिकन नसकेका राजनीति सत्ता परिवर्तनका परिघट्नाहरुले जनता खुशी छैनन् ।
नेताहरुमा आउने अवसरको ताक आँकलन गर्न र चुम्न जहिले पनि हुने प्रयत्नहरु,एकदलले अर्काे दलको प्रयोग र उपयोगद्धारा गर्न सकिने राइँदाइँको चरित्रहरु,सरकारमा आउन जे पनि गर्न पछि नपर्नै राजनीतिक स्वार्थमा रुमुल्लिरहेको नेपाली राजनीतिले जनतामा निराशा नछाउला भन्न सकिन्न । राजनीतिक नेतृत्व तहका नेताहरु नै विभिन्न विवाद,काण्डमा सधै मुछिने स्थिति देखा पर्नुले जनता चुप बस्लान भन्न सकिन्न । यसैले ओठे लोकतन्त्रको भक्ति मात्र गाएर,जनताको लागि लागेका हामी भन्ने भाष्य मात्र बोकेर,लोकतन्त्र र समाजवादका शब्दजालहरु जनतालाई फालेर मात्र लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको मान्न सकिँदैन् ।
अर्थतन्त्रको विश्वमै चेहरा अध्याँरो छ । हाम्रो देशमा त भन्नै परोइन । भ्रष्टाचारले मुलक थिलथिलो भएको छ । जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा पनि राजनीतिज्ञहरुको गिद्धे नजर परेका थुप्रै उदाहरण सहकारी ठगी प्रकरणहरुले देखाइसकेका छन् । सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाइसकेको छैन् । सत्ता सञ्चालक र विभिन्न राजनीतिक उपल्लो ओहदामा विराजमान महानुभावहरु थुप्रैले देखाएका गैह्र राजनीतिक चरित्र,भ्रष्टाचार,राजनीतिक हस्तक्षेप र सुशासन विरोधी क्रियाकलापहरुले जनता निराश देखिएका छन् ।
मुलुकले अब आर्थिक उन्नति खोजेको छ । रोजगारीका अबसरहरु सृजना होस भन्ने चाहेको छ । आयात असाध्यै अनियन्त्रित भएकोले निर्यात गर्ने परिस्थिति निर्माण गर्न खोजेको छ । आर्थिक परिसूचकहरुले अभावका खतराका घण्टीहरु बजाउँन खोजिरहेको अवस्था विद्यमानता छ । तसर्थ,अव सबैको उद्धेश्य समुन्नत नेपाल,सुखी नेपाली सहितको आर्थिक उन्नतिलाई लक्ष्य लिएर अघि बढ्नुपर्दछ । नीतिगत रुपमा कमिकमजोरी भए तीनलाई सच्याएर अघि बढ्नु पर्दछ । देशमा लगानी मैत्री बातावरण सृजना हुनुपर्दछ । यसो भयो भने मात्र आर्थिक सम्वृद्दिको ढोका खुल्नेछ ।
तसर्थ,आजको मौजुदा संविधानले दिएका जनताका हकअधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनको लागि लोकतान्त्रिक पद्धतिसहितको आचरणमा राजनीतिक दलहरु परिष्कृत हुनुपर्दछ । अहिले त दिन प्रतिदिन उक्त पद्धतिमा ह्रास आइरहेको छ । राजनीतिक संस्कार र परिपाटीमा स्खलन भैरहेको छ । लामो समयदेखि राजनीतिक अस्थिरताले घर गरेको नेपालमा अब राजनीतिक स्थिरताको अनिवार्यता भैसकेको छ , यसतर्फ राजनीतिक दलहरु चनाखो भएर विधि र पद्धतिलाई संस्थागत रुपमा व्यवहारिक कार्यान्वयनमा प्रतिवद्ध हुनु जरुरी छ ।
विगतका भूलहरुबाट पाठ सिकौं र सच्चिएर अघि बढौं । नत्र ,यो व्यवस्थामा आएको सकसले जनविद्रोह पैदा नगर्ला भन्न सकिँदैन् । हालै देखिएका जनताको आक्रोस कसरी आउँछ भन्ने कुराको छिमेकी देशहरुका उदाहरणबाट पनि जनता जागे भने जे पनि हुनसक्छ भन्ने शिक्षा लिएर देश,जनतालाई समुन्नत बनाउन आजैको दिनले सबैमा प्रेरणा देओस यहि अर्थमा हामी संविधान दिवसको शुभकामना सम्पूर्णमा बाँड्न चाहान्छौं ।