
काठमाडौं, चैत २३ गते । कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । ग्लोबल आईएमई बैंकको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ ।
कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वा“रले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।
मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउने छन् । त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउने छन् । पहिलो तीन स्थामा आउनेले ट्रफी र मेडल पनि पाउने छन् । ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन् ।
कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन् । एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताइन् ।
कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदैं जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुदैं तीनकुनेमा आएर दौड टुंगिने छ रेस प्रशिक्षक आरके विष्टले जनाए । कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ । तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तिनकुनेमै आएर टुंगिने छ । कलेज रन कोटेश्वर हुदैं तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्कि कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।






