धनगढी, जेठ १५ । शिक्षा र संस्कारको संगमका रूपमा परिचित चैतन्य पाठशालाद्वारा आयोजिक ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढीमा भव्य रूपमा सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिवनगरमा आयोजना भइरहेको छ।
प्रतियोगिताको उद्घाटन ओलम्पियन तथा ओलम्पियन संघका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट ज्यूको प्रमुख आतिथ्यतामा गरिएको थियो।
‘चैतन्य तेक्वान्दो डोजाङ’को आयोजनामा सम्पन्न प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ।
चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रहरूलाई उजागर गर्दै आएकोमा यसपछिको कार्यक्रम अझ वृहत रुपमा आयोजना गरिने छ।
कार्यक्रममा प्रमुख अतिथि विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त सामग्री र अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू रहेका छन्। र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ । यसरी विद्यालय स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुने छ।
चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको संगम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताउनुभयो। उहाँले चैतन्यका हरेक गतिविधि समाजसँग जोडिँदै आएको र विद्यालयले सक्षम र सचेत नागरिक उत्पादन गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ट तेक्वान्दो गुरू गोविन्द विष्ट, शेरवहादुर सिंह र मोहन प्रताप गुरूङलाई जनहि १००००÷– सहित प्रमुख अतिथि ओलम्पियन दीपक विष्ट लगायत प्रेरक अतिथि जगत टमटा ज्यूले खादामाला, सम्मानपत्र र नगदसहित विशेष सम्मान प्रदान गरिएको छ ।
प्रतियोगितामा विजयी हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ। टिम प्रथमले रु ५०,०००, दोस्रोले रु ३०,००० र तेस्रोले रु २०,००० प्राप्त गर्नेछ। साथै, ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही रु ५,००० पुरस्कार प्रदान गरिनेछ।
चैतन्य पाठशालाले आफ्नै चैतन्य स्पोर्टस एकेडेमिको माध्यमवाट विद्यार्थीहरूलाई वृहत खेलकुदको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।कार्यक्रमको अवसरमा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाज्यूले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस एकेडेमीलाई खेल सामग्री समेत हस्तान्तरण गर्नुभएको छ।
विष्टले भने ‘आज म अत्यन्तै खुशी अनि भावुक भएको दिन । जुन भुमिबाट तेक्वान्दोको यात्रा शुरु गरेर साउथ एशियनमा ४ गोल्ड, एशियनमा २ ब्रोन्च र ओलम्पिक क्वालिफिकेसनबाट ओलम्पिक खेल सम्मको यात्रामा मलाई सफल बनाउन अहम भुमिका खेल्नुहुने सुदुरपश्चिम तेक्वान्दोका हस्ति, सस्थापक मेरो आदरणिय गुरु गोबिन्द बिष्टलाई आज आफैले यहि भुमिमा सम्मान गर्न पाउदा म निकै हर्ष बिभोर भएको छु । गुरुको सुस्वास्थ्य र दिर्घायुको शुभकामना ब्यक्त गर्दछु । सोहि अवसरमा तेक्वान्दोका गुरुहरु शेर बहादुर सिंह र मोहन प्रताप गुरुङ लाई समेत सम्मान गर्ने अवसर जुराईदिनुहुने चैतन्य पाठशालाका अध्यक्ष आदरणिय मेरा मित्र गणेश जोशीलाई बिशेष धन्यबाद । तेश्रो चैतन्य सुदुरपश्चिम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता २०८२ को सफलताको शुभकामना ।’