
ईखबरनेट संवाददाता
काठमाडौं–एक खेल अगाडि नै विभागीय टिम पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । पुलिसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको निर्णायक सावित खेलमा चर्च ब्वाइजलाई हरायो र एक खेल अगाडि नै उपाधि हात पार्न सफल रह्यो ।
पुलिसले यो खेल २–१ ले आफ्नो पक्षमा पारेको हो । यो जितपछि पुलिसको २१ खेलबाट ४८ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको एनआरटी भन्दा सात अंक बढी हो । एनआरटी ४१ अंकमा दोस्रो तथा संकटा ३९ अंकमा तेस्रोमा छ ।
अब पुलिसलाई कसैले पनि उछिन्न सक्ने छैन् । चर्च ब्वाइजविरुद्ध खेलको पहिलो मिनेटमै पुलिसले विक्रम गौत्तमको गोलले अग्रता लिएको थियो । त्यसपछि ४८ औं मिनेटमा पुलिसका कप्तान सुवास बमले दोस्रो गोल थपे ।
खेलको अन्त्यतिर इन्ज्युरी समयमा चर्च ब्वाइजका लागि निमा पाख्रिनले एक गोल फर्काए । कुल १२ टिमको सहभागिता रहेको युथ लिग डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको हो ।







