
काठमाडौं।गृह मन्त्रालयले मधेसका जिल्लामा भइरहेका धर्म र सम्प्रदायबीच सुसम्बन्ध खलल पार्ने गतिविधिमा ध्यानाकर्षण भएको भन्दै सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ।
सोमबार प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता, संयमता र सजगता अपनाउन अनुरोध गरेका हुन्।
‘तराई एवं मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता लगायत समसामयिक विषयमा छलफल गरी संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरिसकेको छ,’विज्ञप्तिमा भनिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार र सोमबार विभिन्न समुदायहरूसँग समन्वयात्मक बैठक, केन्द्रीय सुरक्षा समितिको बैठक गरेका थिए।





