
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।
बुधबार पार्टी कार्यालय बनस्थलीमा शपथ लिएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन् ।
उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्व न्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनित गरिएको महामन्त्री आचार्यले जानकारी दिए ।
विधानको व्यवस्था अनुसार बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले आजको बैठकमा कुनै छलफल नभएको उनले बताए ।





