
पनौती,काभ्रे । नेकपा एमाले पनौती वडा नं.१ कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री माननीय गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको बन्द सत्रले श्यामहरी सापकोटाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ ।
उक्त वडा कमिटिको उपाध्यक्ष चित्र बहादुर श्रेष्ठ,सचिव हरिबहादुर तामाङ,उपसचिव दिनेश तिमल्सिना तथा महिला सहसचिवमा सुन्तोली तामाङ निर्विरोध निर्वाचित भए ।
उक्त अधिवेशनले एक सल्लाहकार समिति समेत चयन गरेको छ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बास्कोटाले राजनीतिक,ऐतिहासिक र भूमिकाको हिसावले महत्वपूर्ण स्थानको रुपमा रयालेको चर्चा गरे । उनले विगतको वडा पराजयप्रति निरास नहुन भने- “विगत बिर्सौं,आगतको तयारी गरौं । सबैलाई बुझाउँ एमाले हार्दा प्रगति र विकास हार्दोरहेछ।”
यहाँका सम्पूर्ण विकासका पूर्वाधार एमालेले बनाएको दावी गर्दै उनले अगाडि भने-“यहाँका सडक,विद्युत,विद्यालय लगायतका विकासका सम्पूर्ण पूर्वाधारहरु एमालेको नेतृत्वमा बनेको हो।”
उनले कार्यकर्तालाई निर्देशन दिंदै भने-“सकारात्मक परिवर्तनलाई आत्मसात गरौं । बाँकी उपलब्धिको निम्ति सकारात्मक भएर एकमना एकताका साथ लागौं । गुटको बर्को ओढेपछि सब ठीक हुन्छ भन्ने परिपाटीको विकासले गुटले पार्टीको मूलधारको प्रतिनिधित्व गर्न सक्दैन्।”
पूर्व नगरप्रमुख भिम न्यौपानेले नेतृत्व एकिकृत भावनाले पार्टी निर्माणमा लागेर गुमेको विरासत फर्काउनुपर्नेमा जोड दिए ।
उनले भने-“नेतृत्वलाई स्विकार्ने परिपाटी विकास गरौं । जनता र पार्टीविच दरार सिर्जना भएको छ,त्यो दरारको अन्त्य हुनुपर्छ । मिसन ८४ को लागि आजैबाट एक भएर लागौं ।”
पूर्व प्रदेश कमिटी सदस्य केदारनाथ सापकोटा,जिल्ला कमिटी सदस्य गुणनाथ सापकोटा,सुदर्शन हुमागाईँ,नगरकमिटी अध्यक्ष सुरेश हुमागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता वडा कमिटी अध्यक्ष उद्धब सापकोटाले गरेका थिए । सचिव विरमान तामाङले सञ्चालन गरेको उद्घाटन सत्रमा उपाध्यक्ष बालकृष्ण तामाङले स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा विरध्वज तामाङ,विकास तामाङ लगायतका व्यक्तिहरु एमाले प्रवेश गरेका थिए।
अधिवेशनमा जिल्ला कमिटी सचिव राजकुमार सापकोटा,सदस्य माधुरी सापकोटा,पनौती नगरकमिटी उपाध्यक्ष सन्तोष केसी,उपसचिव शिव घुलु ,वडा नं.१२ कमिटीका अध्यक्ष इश्वरराज जंगम,लगायतको उपस्थिति रहेको थियो ।






