
काठमाडौं ।नेकपा एमालेको ४१ औं सचिवालय बैठकले तीनवटा निर्णय गरेको छ।
मंगलबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण निकै सफल भएको ठहर गरेको छ ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार- ‘प्रधानमन्त्रीको भ्रमण निकै सफल रह्यो। अन्य सहमतिहरूका अतिरिक्त खास गरेर फ्रेमवर्क फर बिआरआई को अपरेसनमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निष्कर्ष निकालेको छ। यसमा अर्को महत्त्वपूर्ण कुरा भनेको सत्तामा रहेका दुई ठूला पार्टीहरूको जुन समझदारी यसमा बनेको छ, त्यसले बिआरआईलाई निष्कर्षमा पुर्याउन यसले सहयोग गरेको छ नै, निर्णायक भूमिका खेलेको छ नै, भोलिका दिनमा हाम्रो परराष्ट्र नीति सञ्चालन गर्दा हाम्रा बाह्य सम्बन्धहरू सञ्चालन गर्दा दिगोपन, एक खालको राष्ट्रिय सहमति हुने आधार निर्माण गरेको छ। त्यसकारण भ्रमण निकै सफल रहेको हाम्रो निष्कर्ष छ ।’
बैठकले दुवै देशले भएका सहमतिहरुको दृढतापूर्वक, शीघ्र, प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने खाँचो औंल्याएको उनले बताए।
त्यस्तै मंसिर १६ को स्थानीय तह उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीर रूपमा लिएको पनि उनले बताए।
‘समग्र रूपमा एमालेले उपलब्धि हासिल गरेको छ। हाम्रा जितेका ७ वटा पद रिक्त भएको थियो। त्यसमा एउटा अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जितेका छौं। तथापि हामीले परिणामलाई गम्भीरतापूर्वक लिएका छौं। खास गरी काठमाडौं, कीर्तिपुर, काठमाडौंको १६ नम्बर वडा, कीर्तिपुरका केही वडामा हामीले जे परिणामको अपेक्षा गरेका थियौं, सोचेजस्तो परिणाम आएन। यसमा हामी गम्भीर छौं।’
अहिलेको उपनिर्वाचनमा यसअघि जुन ठाउँमा जुन पार्टीले जितेको थियो, ती ठाउँहरूमा परिणाम फरक आएको ज्ञवालीले बताए।
जनमत परिवर्तन भएको छ, स्थानीय तहमा पनि। के कारणले जनप्रतिनिधिले आफ्नो प्रभाव छाड्न सकेनन्, एउटाले जितेको ठाउँमा अर्काले जित्ने स्थिति भयो, मतको परिवर्तनका स्थिति देखियो। यसमा जनप्रतिनिधिहरूले जनताको मन जित्नेगरी काम गर्नुपर्छ उनले भने।
सामाजिक सञ्जाल दुरूपयोग गर्दै नकारात्मक जानकारी दिने ,अवफाह फैलाउने राजनीतिक दल, नेताहरू, सरकार, प्रधानमन्त्रीको चरित्र हत्या गर्ने, भ्रम फैलाउने, जनतामा निराशा सिर्जना गर्ने, सामाजिक सदभाव खल्बल्याउने, कतिपय राजनीतिक नेताहरूले आफ्ना क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई बढावा दिने, त्यस्ता कुरामा जोडिने प्रवृत्ति देखापरेको पार्टीको ठहर रहेको पनि ज्ञवालीले बताए ।
‘त्यस्ता कुरा किमार्थ उचित होइन, यस्ता भ्रम प्रचारले कसैलाई पनि लाभ दिँदैन। त्यसैले यसका विरूद्ध हाम्रो पार्टी पंक्तिले राजनीतिक प्रतिवाद गर्नुपर्छ। यसका लागि पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्यौं।’उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।






