
काठमाडौँ । इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँ , किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) थालिएको छ । कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहितको नृत्य गरिएको हो ।
भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नु अगाडि वसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डबलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
इन्द्रजात्रा (क्वनेया)का दिन जैसीदेवल अगाडिको डबलीमा नाच नाचिन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई नाच देखाउने पनि गरिएको छ ।
नाचले असत्य माथि सधैँ सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरूमा दैत्यको वध गरेको देखाइन्छ । यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ ।
पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डबलीहरूमा मात्र नचाइन्छ ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने आसयले यस्तो नाच देखाउने चलन भ्एको नाचसँग सम्बन्धित जानिफकारह्ररुले बताएका छन् ।






