
काठमाडौं। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ।
उक्त गीतलाई अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
उनको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीतलाई गायिका पेमा शेर्पा राईको स्वर र संगीतकार ओमप्रकाश राईको संगीतले जीवन्तता प्रदान गरेको छ।
‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ मा स्वर दिएकी गायिका पेमाले दर्जनौं गीत गाएकी छन्। गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन्। उनको गीतले पीडायुक्त प्रेम सुन्दर ढंगले व्यक्त गरेको छ।
गीतकार राईका यसअघि दुई गीत रेकर्ड भएका छन्। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ र २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ गीत रेकर्ड भएको छ। उनको ‘सञ्चो छ कि रोदन’ गीतलाई २०८१ मा नवराज पराजुलीले पनि स्वर दिएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई साहित्य लेखन र पत्रकारितामा उत्तिकै सक्रिय छन्। गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) प्रकाशित छन्। ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको विधागत उन्नयनमा लागेका गीतकार राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छन्।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।