
काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् ।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।
आइतबार निर्वाचन समितिले महाधिवेशन स्थलमा एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।




