
काठमाडौं ।राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए । कप्तान रियान परागले १६, सुभम दुवेले १५ रन थप्दा यशस्वी जैसवालले १३ रन थपे ।
यसअघि अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका वैभव सूर्यवंशी यस खेलमा भने शून्यमै पभेलियन फर्किए ।
राजस्थानलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान तीन विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिँदा हार्दिक पन्ड्या र दीपक चहरले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका ओपनर रिकेलटोनले सर्वाधिक ६१ रन बनाए । उनले ३८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर रोहित शर्माले ३६ बलमा नौ चौकासहित ५३ रन थपे ।
यी दुईले पहिलो विकेटका निम्ति ११६ रनको साझेदारी गर्दै मुम्बईलाई बलियो सुरुआत दिलाएका थिए । सूर्यकुमार यादव र कप्तान हार्दिक पन्ड्याले समान ४८ रन थपे ।
राजस्थानका महिस थिक्षणा र रियान परागले समान एक विकेट लिए ।
जितसँगै ११ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै राजस्थान भने आईपीएल–२०२५ को प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बनेको छ ।
