
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिका विषयमा सामाजिक सञ्जालमा अतिरन्जित हल्ला फैलाइएको भन्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ ।
प्राधिकरणले हालसम्ममा नेपालभरिको विद्युतको जडित क्षमता ३,५१२ मेगावाट मेगावाट पुगेको छ । यसमा पनि प्राधिकरणको आफ्नै जलविद्युत् ६६२ मेगावाट रहेको छ ।
त्यस्तै, सौर्य २५ मेगावाट र तापीय ५३ मेगावाट रहेको छ । तर, ५३ मेगावाट तापीय विद्युत् भने हाल बन्द अवस्थामा रहेको जनाइएको छ । नेविप्राका सहायक कम्पनीको ६२३ मेगावाट र निजी क्षेत्र को क्षमता २,१४९ मेगावाट छ ।
जलविद्युत् आयोजनाहरूमा जलाशयुक्त १०६ मेगावाट, आंशिक जलाशय ७८९ मेगावाट र बाँकी नदी प्रवाह आयोजना छन् । हालको उच्च माग (पिक लोड)मा दुई हजार ७७ मेगावाट रहेको र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्रधिकरणले जनाएको छ ।
भारतमा अत्यधिक बढेको विद्युत् मागको कारण नेपालले रातको समयमा चाहेजति विद्युत् किन्न नसके पनि प्राधिकरणले उपलब्ध सबै उपाय अपनाएर घरायसी ग्राहकलाई २४सै घन्टा र उद्योगहरूलाई राति केही घण्टाबाहेक अन्य समयमा माग बमोजिम विद्युत् आपूर्ति गरी आएको जनाएको छ ।
हाल प्रिमनसुन सुरु भएकाले हावाहुरी र आकस्मिक चट्याङसहितको वार्षाका कारण केही समयका लागि विद्युत् आपुर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ । “कहाँ कतै कुनै पनि ग्राहस्थ ग्राहक वर्गको क्षेत्रमा लोड सेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोड सेडिङ नहुने कुरामा आश्वस्त गराउन चाहन्छौँ ।”
प्राधिकरणले भनेको छ(“साथै औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकीको समयमा आफ्नो खपत कम गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।”
प्राधिकरणले नेपालको नदीनालामा बहाव छिटै बढ्ने र भारतबाट पनि विद्युत् आपुर्ति बढ्ने अवस्था रहेको भन्दै हाल देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरेको छ ।





