
सुर्खेत । उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई कारबाहीको माग राख्दै अदालतको गेटमा तीनदिनदेखि धर्नामा बसेकी जाजरकोटीकी ती महिलाले आफ्नी बहिनीसहित आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेकी थिइन् ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाही र उनकी शर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो । निर्मलाका श्रीमान् रामबहादुर शाहीका हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै उनीहरु दुई बहिनी धर्नामा बसेका छन् ।
जाजरकोट जिल्ला अदालतले रामबहादुरको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पुर्पपक्षका लागि कारागार पठाउन आदेश दिइसकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेकमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत अगाडी धर्नामा बसेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले धर्नामा बसेकी शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएकोे बताए ।गत १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न उनका श्रीमान रामबहादुर शाहीको सोही दिन हत्या भएको थियो । माघ १८ गते जुनिचाँदेको काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएका थिए ।
प्रहरी अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा स्थानीय तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप १ नाबालकलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।
रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरूलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । निर्मलाले विभिन्न आठ बुँदे माग राख्दै उच्च अदालत अगाडी तीनदिनदेखि धर्नामा बसेकी थिइन् ।

