काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘व्यथित काव्य सम्मान, २०८२’ र ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८२’ को घोषणा गरेको छ ।
व्यथित काव्य सम्मान, २०८२ कवि विमला तुम्खेवा र कवि तथा पत्रकार मीनकुमार नवोदितलाई प्रदान गरिने भएको छ । व्यथित काव्य डायस्पोरा सम्मान, २०८२ अमेरिका निवासी कविद्वय लालगोपाल सुवेदी र दीपा राई पुनलाई प्रदान गरिने संघले जनाएको छ ।
साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा गठित समितिको सिफारिसमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट यस्तो निर्णय गरिएको संघले जनाएको छ ।
कवि तुम्खेवाका ‘विमला तुम्खेवाका कविताहरू’, ‘नदी छाल र तरंगहरू’, ‘संस्मरण : एउटा बूढो रुखको’ र ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’लगायत कृति प्रकाशित छन् ।
कवि नवोदितका ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’सहित आधादर्जन कृति प्रकाशित छन् ।
डायस्पोरा सम्मानका निम्ति चयन भएका कवि सुवेदीका ‘फूलको देशमा’, ‘छायालाई माया नगर्नुहोस्’, ‘अग्नि आतंक’, ‘बिक्रीमा पृथ्वी’, ‘पानी’, ‘योगमाया र इन्द्रेनी’ र ‘सबाल्टर्न पात’लगायत दर्जन बढी कृति प्रकाशित छन् ।
यस्तै, पुनका ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’, ‘छुटेको बागदाता’, ‘दियोको अन्तिम लप्का’, ‘शरदका पहेँला पातहरू’ तथा ‘प्रतिरूप’ (गीति एल्बम)लगायत कृति प्रकाशित छन् ।
०३९ सालमा स्थापित ‘व्यथित काव्य सम्मान’ संघले नेपाली साहित्यमा योगदान पुर्याउने प्रतिभाशाली कविहरूलाई प्रदान गर्दै आएको छ ।