भक्तपुर सिद्धपोखरी नजिकै सल्लाघारीसंगैको पाटीको शिलालेखको उद्धरण
शाके १५५२ ।। नेपालसम्वत् ७५० थ्वगुलि वर्षस……श्रीमन्महाराजाधिराज श्रीश्रीजयजगज्योतिम्र्मल्लदेव प्रभु ठाकुरसन पौषकृष्ण एकादशी बुधानुराधयोगस आरम्भ याङान वैशाखकृष्ण द्वादशी रेवतीनक्षत्र प्रीतियोग बृहस्पतिवार कोन्हु सम्पूण्र्णन सिधयकं थ्व पुष्करिणी प्रतिष्ठा याङ जुरों
ृ शकसंवत् १५५२ नेपाली संवत् ७५० (वि.सं १६८७) यस वर्ष श्रीमहाराजाधिराज श्रीश्रीजयजगज्योतिर्मल्लदेव प्रभ् ठाकुरले पौषकृष्ण(पूणान्तमानले माघकृष्ण) एकादशी बुधवार अनुराधानक्षत्रको योग भएको दिनमा आरम्भ गरीकन वैशाखकृष्ण(पूणान्तमानले जेष्ठकृष्ण) द्वादशी रेवतीनक्षत्र प्रीतियोग बृहस्पतिवारका दिन जम्मै सिद्ध्याएर यो पोखरीको प्रतिष्ठा गरियो ।
( पूर्णिमा अंक ७८ को पृष्ठ ६)
अभिलेखमा स्पष्ट शाके १५५२ भनेर दिइएको छ । यो कसको कुन शास्त्र र सिद्धान्तले शकसंवत् १५५२ भनेको हो पुष्ट्याई कतै दिइएको छैन । यसलाई संशोधन मण्डलको मनपरि सिद्धान्त भन्न सकिन्छ ।
यसमा नेपालसंवत् ७५० पनि दिइएको छ । साथै महिना पौष भनेर समेत स्पष्ट दिइएको छ । यसरी ने.सं ७५० पौषको समानान्तर विक्रमसंवत् भनेर १६८७ दिइयो । यहाँ पनि ने.सं ७५० पौषको समकालीन वि.सं ९३७ फरकमा १६८७ दिइनुको पछाडि कुन शास्त्र र सिद्धान्तले पुष्टि गर्दछ कतै दिइएको छैन । यो पनि संशोधन मण्डलको मनपरि सिद्धान्त मात्रै भन्नु पर्दछ ।
अभिलेखमा स्पष्ट किटानका साथ पौषकृष्ण एकादशी दिइए पछि पौषकृष्ण एकादशी नै हुनेहो जुनसुकै शास्त्र र सिद्धान्त अघिसारिए तापनि माघकृष्ण एकादशी कुनै हालतमा हुने होइन । यो पनि संशोधन मण्डलको मनपरि सिद्धान्त नै भन्नु प¥यो ।
यही पूर्णिमा अंक ७८को पृष्ठ ६ बाट ७ मा जाने बित्तिकैे कार्तिकशुक्ल प्रतिपदादेखि फागुनकृष्ण अमावास्यासम्म नेपालीसंवत्मा ८०१ जोडे शकसंवत् ९३६ जोडे विक्रमसंवत् ३९८० जोडे कलिगत वर्ष हुन्छ भनिएको छ । अघिल्लो पृष्ठमा नेपालसंवत् ७५० पौषमा ९३७ जोडेर विक्रमसंवत् १६८७ हुन्छ भन्ने अर्को पृष्ठमा आउना साथ नेपालसंवतमा ९३६ जोड्ने कुरा अघिसार्नेलाई बरु बदमासी गर्ने नियत भन्नु पर्ने हुन्छ कि हुँदैन पाठक वर्गले दूधको दूध र पानीको पानी छुट्याउन कठिन नपर्ला ।
नेपालसंवत् सित ८०२ वर्ष अन्तर देखिएको संवत् लिच्छविकालमा चलेको संवत् हो । इन्डिया अफिस लाइब्रेरीमा रहेको स्फोटिका वैद्यको ने.सं २४० आषाढ मा ८०२ जोड गर्दा १०४२ हुने पनि लिच्छविसंवत नै हुनेहुनाले १०४२ लाई इतिहासकारहरुले जेसुकै नामाकरण गरिएको होस् ।केवल नामाकरणले हुलिया बदलिने होइन । भक्तपुर सल्लाघारीस्थित पाटीको शिलालेखमा नेपालसंवत् ७५० दिइएको हुनु र ८०२ वर्ष अन्तर देखिने संवत् १५५२ दिइएपछि यो लिच्छविकालमा चलेको लिच्छविसंवत् भयो यहाँ अभिलेखमा श्रीशाके भनेर विशेषण लगाइएको छ । यो शकपूर्व २ को लिच्छविसंवत् भएकोले शक १५५० को कार्तिकदेखि शक १५५१ को आश्विनसम्म रहने निश्चित छ । यहाँ महिना पौष दिइएकोले शक १५५० हुने भयो भने शक १५५० मा १३५ जोड गर्दा वि.सं १६८५ हुन् पर्नेमा १६८७ गरेर तिथिमिति गणना गर्दा वार आएन । यसरी २ वर्षको फरक पारी सकेपछि वार मिल्न आउनु असंभव भएको हो । त्यही भएर अमान्तमानको पद्धतिबाट ज्यानगइ वार मिल्न नआएको कारण मल्लकालमा पूर्णिमान्तको पद्धति छैन भनी जानाजान भइकन पनि पूर्णिमान्तबाट मिल्न आयो भन्नु पनि संशोधन मण्डलको मनपरि सिद्धान्त कै ज्वलन्त उदाहरण हो । यसरी मनपरि सिद्धान्त लादेर संशोधन मण्डलले भ्रम फैलाई आएको धेरै वर्ष भइसक्यो । धुपौरे लेखक तथा पाठकहरु अझै पनि संशोधन मण्डलको धारलाई मूलधार मानेर बसुन् तर स्वस्थ, स्वच्छ, सत्यतथ्य इतिहासको अपेक्षा राख्ने तमाम लेखक तथा पाठकहरु त्यो धारमा बग्न नपरोस् भनी यो लेख तयार गर्नु परेको हो ।
संशोधन मण्डलको सिद्धान्त आखिर कुन ?
१. चैत्रशुक्ल प्रतिपदादेखि आश्विनकृष्ण अमावास्यासम्म नेपाली संवत्मा ८०२ जोडेर शकसंवत्,९३७ जोडे विक्रमसंवत्,३९८१ जोडे कलिगतवर्ष हुन्छ । (पूर्णिमा अंक ७८पृष्ठ ७)
स्फोटिकावैद्यको पुष्पिकावाक्यको संवत् २४० प्रथमाषाढकृष्णद्वितीयायां सोमदिने दिइएको छ । २४०+८०१=१०४१ हुने हुनाले शकसंवत् १०४१कार्तिकशुक्ल प्रतिपदादेखि शकसंवत् १०४२ को आश्विन(पूर्णन्तमानले कार्तिक) कृष्ण अमावास्यासम्म उक्त संवत २४० रहन्छ । (पूर्णिमा अंक ७८पृष्ठ १६)
यी दुइटै संशोधन मण्डलका द्वैध चरित्रका सिद्धान्त हुन् । किनभने पृष्ठ ७ मा चैत्रदेखि आश्विनसम्म नेपालसंवत्मा ८०२ जोड्ने कुरा ल्याइ राखेको छ भने पृष्ठ १६ मा आएर आषाढको मितिमा २४० मा ८०१ मात्र जोडेर दुनियाँलाई बेवकूफ बनाइएको छ । उल्टो अरुलाई मूर्ख शिष्यलाई अर्ति दिए विद्वानले दुःख पाउँछ भन्नु कति सुहायो होला ?दुनियाँले अवश्य नै बुझ्ने नै छ ।
२.ने.सं ७५० पौषमा शकसंवत् १५५१ र वैशाखमा मात्र १५५२ हुनुपथ्र्यो । त्यसो नभइ पौष र वैशाख दुवै महीनामा शकसंवत् १५५२ नै देखिएकाले यहाँको शकसंवत् चैत्रशुक्ल प्रतिपदादेखि सुरु भएको देखिएन । (पूर्णिमा अंक ७८पृष्ठ ७)
विक्रम संवत्बाट१३५ घटाए शकसंवत् आउँछ । यस कारण वि.सं ६६४(=६६४–१३५)=शकसंवत् ५२९ हुन्छ । यसकारण अभिलेखको संवत् ३१ शकसंवत् ५२९ कार्तिकदेखि ५३० आश्विनसम्म रहन्छ ।
(पूर्णिमा अंक ७८पृष्ठ ९)
यो पनि संशोधन मण्डलका द्वैध चरित्रका सिद्धान्त हुन् । किनभने सिद्धान्त भनेको एउटै हुन्छ शकसंवत नेपालमा कार्तिकादि मान्दथे भनियो भने चैत्रादि कहिल्यै हुँदैन । यदि चैत्रादि थियो भने कार्तिकादि कहिल्यै हुँदैन । ने.सं ७५० मा शकसंवत् पौषमा पनि १५५२ र वैशाखमा पनि १५५२ भएको उदाहरण दिन जानेको संशोधन मण्डलले संवत् ३१ चाहीं किन शक ५२९को कार्तिकदेखि शक५३० को आश्विनसम्म रहेको देखाइयो किन ? वास्तवमा १५५२ लाई अभिलेखमा श्रीशाके स्पष्ट भनिएको छ । संशोधन मण्डलले १५५२ लाई शक १५५२ भनेका छन् यसमै भ्रम परेको स्पष्ट छ ।
लिच्छविकालमा चलेको संवत् पनि कार्तिकादि र नेपालसंवत् पनि कार्तिकादि थियो भन्ने कुरा जग जाहेर भइसकेको कुरा हो । लिच्छविकालमा चलेको संवत् ८०२ वर्ष चलेर ८०३ हुनु पर्ने ठाउँमा पुन १ देखि नयाँ संवत् आरम्भ भए पछि यही नयाँसंवत् नेपालसंवत् कहलिएको हो । त्यही भएर नेसं ७५०को पौषमा पनि शाके १५५२ र वैशाखमा पनि शाके १५५२ भएर चलेको हो । जसरी लिच्छविसंवत् ८०३ भनेको शकपूर्व २ को भएकोले शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहे भने नेपालसंवत् १ पनि शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहे । त्यस्तै भने झैं नेसं ७५० भनेको कार्तिकदेखि आश्विनसम्म बसे जस्तै श्रीशाके पनि १५५२ को कार्तिकदेखि आश्विनसम्मै कायम रहेको स्पष्ट छ ।
३ पाटन वकुबहाको मूलढोकामा टाँसिएको ताम्रपत्र अभिलेखबाट उधृतअंश
. ……शाकराजवर्षे १३१३ श्रीमन्नेपालिक श्रेयोस्तु संवत् ५११ प्रथमाषाढशुक्लदशम्यायाम् भनी पाटन वकुबहाको मूलढोकामा टाँसिएको ताम्रपत्रको पाठबाट उधृत प्रकरण हो । पेतेकको १४१ पृष्ठमा छ भने पूर्णिमा अंक ७८ को पृष्ठ १८ मा पनि छ । भक्तपुरको सल्लाघारीको अभिलेखमा शाके १५५२ दिइएकोलाई शक १५५२ भनेर देखाउन सक्ने संशोधन मण्डलले यहाँ अभिलेखमा शाकराजवर्ष १३१३ लाई शकसंवत् १३१३ किन भन्न सकेन ? माथि ने.सं ७५० र शाके १५५२ बीचको अन्तर पनि ८०२ नै छ यहाँ ने.सं ५११ र शाकराजवर्ष १३१३ बीच पनि ८०२ नै देखिएपछि ती दुवै एउटै संवत्को निरन्तरता हो भनी चाल नपाउने संशोधन मण्डलको कुनै सिद्धान्तको धरातल छ भनेर विश्वास गर्ने आधार छैन ।
अभिलेखमा १३१३ दिइएको संवत् कुन हो भनी परिभाषित नगरी ५११ + ८०१=१३१२ शकसंवत् भन्नुको कुनै औचित्य बताउन सकेको होइन । माथि १५५२ को सन्दर्भमा पौषमा पनि १५५२ र वैशाखमा पनि १५५२ भन्न जान्ने व्यक्तिले यहाँ १३१३ पनि पौष र वैशाखमा पनि १३१३ नै हो र आषाढमा पनि १३१३ नै हुने हो । यहाँ आएर कार्तिकादि संवत्को सवालमा कुरा गर्दा कार्तिकमा १३१२ र वैशाख देखि १३१३ भन्नुको कुनै गुञ्जायस नै आउँदैन ।
अभिलेखमा आषाढको मिति आइरहेछ ने.सं ५११ आषाढमा ८०१ जोडेर शक १३१२ भन्छ भने कार्तिकमा १३११ भएको संवत् आषाढमा १३१२ हुने हुन्छ । यदि यो धरातलमा टेक्न आयो भने शक १३१३ भाद्रको अधिमास त्यो वर्ष नपरेर अर्को वर्षमा पर्न जाने हुन्छ । अभिलेखमा १३१३ आषाढलाई प्रथमाषाढ दृष्टान्त अगाडि देखिँदादेखिंदै अर्काे वर्षमा परेको अधिमास नारदमत र भारद्वाजमतबाट ट्वाक्क मिल्यो भन्नु लाज पच्नुको पराकाष्ठा हो ।
४. नारदमत र भारद्वाजमतको अनाकर्षण
धर्मनिर्णयतिथिसारसंग्रहमा नारदमत र भारद्वाजमतको मात्रै चर्चा रहेको सर्वविदित नै छ । नारदमतले चैत्रादि वर्षको मात्र कुरा गर्छ भने भारद्वाजमतले माघादि वर्षको मात्रै कुरा गर्छ । यहाँ कसैले बूझ पचाइ गरिरहनु आवश्यकता छैन ।
नेपालमा प्राचीन लिच्छविकाल र मध्यकालमा प्रचलित संवत् कार्तिकादि वर्ष थियो भन्ने कुरा सर्वविदित कुरा हो । त्यसकारण धर्मनिर्णयतिथिसारसंग्रह नेपालमा आकर्षित भएको छैन । यस बारे पनि बूझ पचाई गरिरहन आवश्यक छैन ।
अधिमास सारणीहरुमा चैत्रादि शकसंवतको कुनकुन वर्षमा कुनकुन महिनामा अधिमास पर्छ भनी दिइएको छ भने नेपालमा प्राचीनकालमा आषाढ र पौषमा मात्र अधिमास मान्ने प्रचलन रहेको कुरा प्राचीन अभिलेखहरुले बताइरहेकै छ । नारदमत र भारद्वाजमत अघिसार्ने ग्रन्थकारलाई कार्तिकादि वर्ष पनि छ भन्ने कुनै हेक्का छैन रहेछ भन्ने स्पष्ट छ । यो भन्दा पनि अझ यहाँका पण्डितहरुले गर्दै आएको गम्भीर त्रुटि भनेको शकसंवत कै पहिचान गर्न नसक्नु हो ।
अभिलेख मै शाकराजवर्षे १३१३ भनेर दिइएको छ र श्रीशाके १५५२ भनेर दिइएको छ । १५५२ को मामलामा पौषमा पनि १५५२ र वैशाखमा पनि १५५२ दिइनुको मतलव शकसंवत् कार्तिकादि भएकै कारणले हो भनेर अभिमत जाहेर गरेको अन्त हेर्न जानै पर्दैन यही पूर्णिमा अंक ७८ को पृष्ठ ७ पल्टाएर हेरे पनि पुग्छ ।
यही पृष्ठको यही अनुच्छेदमा नेपालसंवतमा ८०१ र ८०२ जोड्ने कुरा पनि छ । १३१३ र १५५२ ले नेपालसंवतमा ८०२ मात्र जोड्ने सिद्धान्त छ । ८०१ जोड्ने सिद्धान्त नै छैन । १३१३ आषाढको मामलामा ५११ मा ८०१ जोडेर शकसंवत् १३१२ हुने पनि यही पूर्णिमा अंक ७८ को पृष्ठ १८ मा दिइएको छ ।
यसरी संशोधन मण्डललाई शकसंवत्को पहचान के हो अहिले सम्म अन्यौलको अन्यौलै छ भने धर्मनिर्णयतिथिसारसंग्रहको नारदमत र भारद्वाजमत के हो भन्ने कुरा घोकन्ति विद्याबाट पारलाग्ने कुरा होइन । त्यही भएर घोकन्ति विद्या पनि छोडेको छैन शकसंवतको पहिचान पनि बुझेको छैन । उनीहरुको समस्या भनेको नै यही हो ।
५.रबर्टस्वेलको सारणी प्रामाणिक कि अप्रमाणिक
रबर्टस्वेलको भनाइ अनुसार अधिमासको गणना ब्रम्हसिद्धान्त अनुसार गर्नु हुँदैन भन्ने थियो भने शंकरमान राजवंशीको भनाइ अनुसार गणना गर्दा ब्रम्हसिद्धान्त अनुसार गरे पनि केही फरक पर्दैन भन्ने हो ।
संशोधन मण्डलको भनाइमा मानदेवदेखि प्रथम शिवदेवसम्मका नेपालका लिच्छवि राजाहरुका अभिलेखमा देखिएका संवतलाई जुनसुकै संवत् मानेपनि ती अभिलेखमा देखिएका अधिमास मिलाउन सकिंदैन भनी मैले लेखिसकेकै थिएँ भनेर यो कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ ५६१ मा दिइएको कुरा पूर्णिमा अंक ७८ को पृष्ठ ३० मा पनि उल्लेख गरेको छ । यसको मतलव संशोधन मण्डलले नै मिलाउन नसकेको अधिमास अरु कसैले मिलाउन सक्दैन भनेको भयो यो उहाँहरुको महाभ्रम हो ।
विष्णुपादुकाफेदीको अभिलेखको तिथि संवत् धनवज्रले ३९६ पढे र शंकरमानले ३९५ पढे भनेकाले संशोधन मण्डललाई अभिलेखको संवत्को विषयमा असमञ्जसमा परिरहेको थियो पछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएपछि अभिलेखको संवत् ३९६ पनि होइन र ३९५ पनि होइन वास्तवमा ३९८ रहेछ भनी टुङ्गो लाएँ भन्ने अभिमत जाहेर गरेको कुरा पूर्णिमा अंक ७८ को पृष्ठ २३ मा छ ।
मानदेवको विष्णुपादुका फेदीको अभिलेखको संवत् ३९८ मा प्रथमाषाढ भनेर त्यो वर्ष अधिमास परेको समेत उल्लेख छ । अभिलेखमा आएको संवत ३९८ लाई शकसंवत मानेपछि केतकरको सारणी र रबर्टस्वेलको सारणीमा ३९८ को वर्षमा अधिमास परेको देखाएर यो अप्रामाणिक होइन भनी सिद्ध गर्न सक्नु पर्दथ्यो । तर शक ३९८ को वर्षमा अधिमास परेको देखाउन सक्नु भएको छैन ।
शंकरमान राजवंशीको अनुसार अभिलेखको संवत् शकपूर्व २२ को हुने भएकोले मिलेन हाय् भन्नको लागि ३९८ मा २२ घटाउँदा शक ३७६ आउने देखाइयो । शक ३७६ मा अधिमास परेको कुरा केतकरको सारणीमा पनि छैन र रबर्टस्वेलको सारणीमा पनि छैन भन्न सक्ने मान्छेले शक ३९८ को वर्षमा पनि छैन भन्ने कुरा सरासर बुझ पचाए पछि बदमासी गर्ने नियत कसको रहेछ भन्ने कुरा जगजाहेर भइरहेको छ । रबर्टस्वेलको सारणीमा र केतकरको सारणीमा शक ३९८ को वर्षमा अधिमास परेको देखाउने दायित्व संशोधन मण्डलको हो अरुको होइन । तब प्रामाणिक र अप्रामाणिक भन्न संशोधन मण्डल स्वयं आफै बोक्सी आफै झाक्री भने जस्तो भएन र ?
मध्यकालका अभिलेखहरु मध्ये पाटन गचाननीको संवत् १३२ देखि बनेपा स्वधाटोलको संवत ६५५ सम्म जम्मा १६ वटा अधिमास सहितको अभिलेखको मितिमा पौषका मिति पनि छन् भने आषाढका पनि छन् ती सबैमा ८०१ मात्र जोडेर शकसंवत् बनाइ भूलगर्ने आफू अभिलेखमा देखिएका अधिमास मिलाउन सकिंदैन भनेर दुष्प्रचार गर्दै आउनु भ्रम फैलाउनु हो ।
त्यस्तै गरी पूर्वलिच्छविकालका अभिलेखमा देखापरेका अधिमास कै कुरा गर्दा विष्णुपादुका फेदीको अभिलेखको मिति स्वयं शकसंवत ३९८ हो यसमा प्रथमाषाढशुक्ल १२ भनी टुङ्गो लाउने व्यक्तिको शक ३९८ को वर्षमा अधिमास देखाउने सामथ्र्य कहाँ हरायो ? यहाँ पनि उहाँहरुको महाभूल हुनुको प्रमुख कारण ३९८ लाई शकसंवत् मानेकै कारणले हो ।
विष्णुपादुकाफेदीको अभिलेखमा देखिएको संवत् ३९८ लाई शकपूर्व २ को संवत् मान्यो भने यो शक ३९६ को कार्तिकदेखि शक ३९७ को आश्विनसम्म रहन्छ भनी मान्नासाथ शक ३९७ आषाढको अधिमास यही वर्ष भित्र पर्ने भयो । यति हेक्का राख्न नसक्ने व्यक्ति गणितका उद्भट विद्वान भनेर तारिफ गरेर थाकेको नहुनु कुनै लायक कुरा हुँदै होइन ।
निष्कर्ष
सिद्धान्त भनेको एउटै मात्र हुन्छ दुइटा डुङ्गामा टेक्नेलाई सिद्धान्त भनिंदैन । एउटै पूर्णिमा अंक ७८ लाई पल्टायौं भने नेपालसंवत्मा ८०२ जोडे शकसंवत् हुन्छ भनिएको पनि छ भने अधिमासको हिसाव भनेर देखाईंदा ८०२ कहीं पनि जोडेर देखाउन नसक्ने दृष्टान्त पनि छ । यी दृष्टान्त देखादेख यस्तो गणनालाई सही गणना भनेर तारिफ गरिरहने र उल्टै महान उद्भट् गणितज्ञ भनेर प्रशंसा गरिरहनेहरुलाई के संज्ञा दिने हो ? शव्द आएन ।
नेपालसंवत् ७५० को भक्तपुरको अभिलेख देखाएर श्रीशाके १५५२ छ त्यतिमात्र होइन पौषमा पनि १५५२ र वैशाखमा पनि १५५२ भएपछि शकसंवत् कार्तिकादि हुनै सक्दैन भन्नु बदमासी हो भन्न जानेकाहरुले त्यहाँ नेपालसंवत् र शाके बीच ८०२ फरक रहेको पनि छ त्यो बूझ पचाउने चाहीं बदमासी हो कि भद्र हो यहाँ पाठकहरुले न्याय दिनु पर्ने अवस्था छ । आफु पौष महिनाको मितिमा पनि ८०१ र आषाढ महिनाको मितिमा पनि ८०१ जोडेर शाके १५५२ र ने.सं ७५० बीच ८०२ वर्ष फरकलाई वास्ता नगर्ने चाला यही ७८ अंकको पूर्णिमा हेरे पुग्ने हो ।
समग्रमा विचारलाई फराकिलो पारेर हेर्ने हो भने लिच्छविकालदेखि चल्दै आएको संवत् ८०२ वर्ष चलेर ८०३ को सट्टा नेपालसंवत् १ भएर शुरु भएको हुनाले नेपालसंवत्मा ८०२ जोड्नु परेको हो । यसरी ८०२ जोड्ने गरिएको संवत्लाई शकसंवत् मान्नु ठूलो भूल हुँदै आएको हो । नेपालसंवत् १ भनोस वा लिच्छविसंवत् ८०३ भनोस् यो शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहने गरेको हो । यसलाई त्यसरी छुट्याएर दिमागमा राख्ने सूझ संशोधन मण्डलको दिमागमा कहिल्यै चढ्न सकेन । उहाँहरुको लींडेढीपिमा नेपालसंवत्मा ८०२ जोडिएको संवत्लाई लिच्छविसंवत् भनेर संसारमा कहीं लेखिएको छैन त्यही भएर हामी मान्दैनौं भन्ने नै छ ।
लिच्छविकालमा चलेको संवत् विष्णुपादुकाफेदीमा ३९८ दिइएको छ यसमा अधिमास पनि छ । यसलाई शक ३९६ को कार्तिकदेखि ३९७ को आश्विनसम्म रहने भएकोले यो अवधि भित्र अधिमास परेको सारणीमा देखिनु प¥यो । चाहे केतकरको सारणीमा हेरुन् चाहे रबर्टस्वेलको सारणी त्यसमा शक ३९७ को आषाढमा अधिमास परेको देखेपछि सारणी गलत भएको होइन संशोधन मण्डलका पण्डितको सोच गलत भएको हो ।
अधिमास भएको तमाम उदाहरणमा पौषमा परेको अधिमासको मिति होस् या आषाढको होस् सबैमा८०१ जोड्ने गरिएका छन् । जस्तो १३२ आषाढमा ८०१ जोडेर ९३३ आषाढ भयो पनि भन्ने फेरि शक९३३ कार्तिकदेखि शक ९३४ आश्विनसम्म पनि भन्ने फेरि त्यतिवेला नेपालमा पूर्णिमान्तमानको कुनैगुञ्जायस नै छैन पूर्णिमान्तबाट कार्तिककृष्ण अमावास्या सम्म रहन्छ भनियो । यसरी जुन बखत पूर्णिमान्तमानको प्रचलन नै छैन भने दुनियाँ अलमलाउने किन ? भन्ने सवाल उठ्छ । संशोधन मण्डल शुरुदेखि यसरी नै भ्रम फैलाइ आउनमा अभ्यस्त रहेकोले त्यो बानी उनीहरु छोड्दैनन् । त्यसकारण दुनियाँमा सबै विवेकशून्य मानिस त अवश्यै छैनन् होला । केही प्रतिशत विवेकशील व्यक्ति देखाप¥यो भने पनि अहिलेलाई त्यही प्रयाप्त मान्नु पनि श्रेयस्कर ठान्नु परेको छ ।