विराटनगर । विराट गोल्डकपको उपाधि थ्रीस्टार क्बलले जितेको छ ।
बुधबार राति विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गरी थ्रीस्टारले उपाधि उचालेको हो ।
थ्रीस्टारलाई यो संस्करणको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे ।
थ्रीस्टारले खेल सुरु भएको पाँचौं मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले खोलमा परिणत गरे । ६३ औँ मिनेटमा अर्को गोल गरेर २ -० को अग्रता लियो ।
दिपेश घलेले वान भर्सेस वानमा डिबक्सभित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । वीराट गोल्डकप प्रतियोगितामा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागी थिए ।