
बुटवल । लुम्बिनी क्षेत्रका होटल व्यवसायी र बौद्ध विहारबीच लामो समयदेखि जारी विवाद अन्त्य गर्न ८ बुँदे कार्यविधिमा सहमति भएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई राखेको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो ।
लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कर्यालय रुपन्देहीको रोहबरमा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो ।
बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले ८ बुँदे सहमतिमा हस्ताक्षर गरेसँगै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।








