काठमाडौं । रामेछापमा गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ।
मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।
मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका-४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्।
पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ।
घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका-४ का ४ वर्षीय बालक मृतक सविनाका छोरा रविन विक र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेको र उनीहरुको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भैरहको प्रहरीले जनाएको छ ।