
काठमाडौं । नेकपा (एमाले) ले पार्टी शुद्धीकरणका लागि पाँचबुदे आचारसंहिता जारी गरेको छ।
पार्टीको वार्षिक कार्ययोजनामार्फत आर्थिक अनियमितता भ्रष्टाचार, नैतिक आचरणका सन्दर्भमा एमाले पाँचबुदे निर्देशन दिएको हो।
एमालेले आफ्नो पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ।
सबै कमिटीहरूले आर्थिक कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्न पनि निर्देशन दिएको छ। आर्थिक बक्यौता रहेकाहरू नेता–कार्यकर्तालाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उमेद्वार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि भनेको छ।
पार्टी र विभिन्न जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्ने एमालेले बताएको छ।
पार्टी जीवनको शुद्धीकरणसम्बन्धी पार्टीका निर्णय र जारी आचारसंहिताको कडाइका साथ पालना गर्न र गराउन पनि तहगत कमिटीलाई एमालेले निर्देशन दिएको छ।




