
बनेपा, काभ्रे । जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४२औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष समारोहमा १० जना विशिष्ट श्रष्टाहरूलाई विभिन्न राष्ट्रिय सम्मानद्वारा विभूषित गरिएको छ ।
बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित ‘दोस्रो चरणको श्रष्टा सम्मान कार्यक्रम’ मा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीलाई ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ प्रदान गरियो । नेपाली साहित्यको अनुवाद र प्रवर्द्धनमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई सो सम्मान अर्पण गरिएको हो । डा. अधिकारीले गत वर्ष मात्रै प्रतिष्ठित ‘अनुवाद प्रज्ञा पुरस्कार – २०८१’ समेत प्राप्त गरेका थिए ।
औपचारिक कार्यक्रमको समापनपश्चात् भएको एक अनौपचारिक कुराकानीका क्रममा डा. अधिकारीले वर्तमान समयमा अनुवादको बदलिँदो स्वरूप र प्रविधिको भूमिकाबारे चर्चा गरे । उनले भने, “आजको युगमा अनुवाद कार्यलाई अझ प्रभावकारी र स्तरीय बनाउन अनुवादकको व्यक्तिगत सिर्जनशीलता, मानवीय संवेदनशीलता र कृत्रिम बुद्धिमत्ता (AI) को उचित संयोजन हुन आवश्यक छ ।” प्रविधिले अनुवादलाई सहज बनाए पनि मानवीय भावना र सिर्जनशीलता नै अनुवादको वास्तविक प्राण भएको उनको धारणा थियो ।
समारोहमा डा. अधिकारीका साथै अन्य नौ जना श्रष्टाहरूलाई पनि विभिन्न विधामा सम्मानित गरियो । सम्मानित हुनेहरूमा वरिष्ठ राजनीतिज्ञ एवं लेखक मोहनविक्रम सिंह (कमलराज–जनमत दर्शन साहित्य सम्मान), प्रा.डा. चूडामणि बन्धु (हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान) र प्रा.डा. वीणा पौड्याल (जनमत–सिचि धर्म/संस्कृति सम्मान) रहेका छन् ।
त्यसैगरी, डा. कविता लामालाई ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’, नन्दकृष्ण जोशीलाई ‘जनमत–जनक प्रधान सेवा सम्मान’ र प्रा.डा. सविना श्रेष्ठलाई ‘जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान’ अर्पण गरिएको छ । अन्य सम्मानित व्यक्तित्वहरूमा जगदीश ओझा (जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान), राजभाई प्रधान (जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान) र डा. गोविन्द आचार्य (शान्तिकिरण–जनमत फरक क्षमता सम्मान) रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त भव्य समारोहमा देशभरका साहित्यकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । विगत ४२ वर्षदेखि निरन्तर वाङ्मयको सेवामा समर्पित जनमत प्रतिष्ठानले नेपाली भाषा र साहित्यका विभिन्न विधाका साधकहरूलाई हरेक वर्ष यसरी नै सम्मानित गर्दै आएको छ ।



