अनुवाद कविता
श्रीलङ्काली कवि मलिक थुसिथाका दुई कविताहरू
रक्सी राखिएको अलमारीको ढोका
सबै कुरा मौन छ
घर शान्तिपूर्ण छ
केही भुटेको स्वादिष्ट गन्ध
बैठक कोठामा आइपुग्छ ।
मैले यसलाई सावधानीपूर्वक खोल्न खोजे पनि
रोइरहेको अलमारीको ढोका कराउँछ
उठाइसकेको छ जसले चराहरूको एउटा बथानलाई।
म खुशीहरूलाई साथमा राख्छु
तर जीवनले अरू केही थोक खोजिरहेको छ
त्यो चीजलाई विशाल हातहरूले हल्लाउँदै
अलमारीको ढोका बन्द गर्छु ।
म खुसीले उम्लिरहेको हुन्छु
मीठा स्वादका सपनाहरूमा ।
अनन्त युवा जस्ता अलमारीका ढोकाहरू
खुल्छ र बन्द हुन्छ
मेरो शरीरमा परम आनन्दको
उत्तराधिकारलाई बोलाउँदै ।
चराका बचेराका सन्देशहरू
भान्सातिर दुगुर्दै छन् ।
आमा चराको अनुहार
तावामा जलिरहेको हुन्छ ।
चिन्तित पाइलाहरू
टाइलहरूमा विस्फोट भएका छन्
उनी आउनुभन्दा अगाडि
ढोका खुल्छ र बन्द हुन्छ ।
उनी हेर्छिन् र निधार खुम्चाउँछिन्
निधार खुम्चाउँछिन् र हेर्छिन्
जब उनी निस्केर जान्छिन्
अलमारीको ढोका खुल्छ र बन्द हुन्छ ।
यदि यसभित्र मात्रै कपडाहरू भए पनि,
या तिमी भन्छौ,‘यो समयको बर्बादी मात्रै हो,’
जीवनलाई प्रज्वलित गर्नलाई
म अलमारीको फलामे ढोका खोल्छु
अझै केही धेरै पटक ।
एउटा बस
धेरै पहिले
एउटा बसलाई राम्रो रंग्याएको
र सजाइएको थियो ।
कुनै पनि चोट नदेखिने गरी
जतनपूर्वक मर्मत गरिएको थियो ।
यौवनपूर्ण जवानीका दिनहरूमा
एक दिन पनि नबिराई
हामीलाई त्यो बसले यताउता बोकेर हिँड्ने गथ्र्यो ।
जब म त्यो बस चालकको अन्त्येष्टिमा गएँ
विल्मान अय्याको अनुहार
जो सधैं सधैं
चालकको सिटमा हुने गथ्र्यो
मसँगै आयो र
रोकियो झारपात र झाडीहरूले ढाकिएको
गोदामको सिँढीमा ।
केही खोज्दै
वरिपरि डुल्दै
उसले भन्छ, ‘यही ठाउँ हो’
औंल्याउँदै कुसन र कभर बिनाको
त्यो जीर्ण डबल सिटलाई ।
त्यसक्षण, एउटा आँधी ल्याउँदै
उसले आक्रमण गर्छ
एउटा निर्दोष जहाजलाई !
(नेपाली अनुवाद कवि चन्द्र गुरुङ)