काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला मिति २०८२ फागुन २९ गते सम्पन्न भएको छ ।
नेपाली साहित्यका यशस्वी साधक विजय मल्लको शतवार्षिकीको अवसरमा यस महिनाको पूरै कार्यक्रम उनैमाथि समर्पित थियो ।
यौन मनोविज्ञानमा आधारित विजय मल्लको चर्चित कथा ‘कालो चस्मा’ नेपाली छात्र परिषद (पटना)को वार्षिक मुखपत्र ‘उकालो’को दोस्रो अङ्कमा २०१७ सालमा प्रकाशित भएको थियो ।
दिवंगत स्रष्टा मल्लको तस्वीरमा माल्र्यापणबाट आरम्भ गरिएको कार्यक्रममा सर्वप्रथम अभियानका परिकल्पनाकार पुष्कर लोहनीले सो कथाको पृष्ठभूमिबारे चर्चा गर्दै भने “मनोवैज्ञानिक कथाहरु पढ्ने मेरो रुचि हो । विदेशी मनोवैज्ञानिक कथाहरु पढ्दा फ्रान्सेली साहित्यकार मोपासाँको एउटा कथा मैले धेरैअघि पढेको थिएँ । त्यसै कथाबाट प्रभावित भई लेखिएको कथा हो ‘कालो चस्मा’ । नेपालमा पहिला कतिले यो कथा पढेका थिए म भन्न सक्तिन, २०१७ सालमा कतिले यसलाई अश्लील कथा भनेर फालेका पनि होलान् । पछिल्लो कालखण्डमा प्रमोद प्रधानलगायत अरुले पनि नेपाली यौन कथाका सङ्ग्रहहरु निकालेकाले यो कथा बाहिर आएको हो ।”
“त्यस बेला अश्लीलताको परिभाषा कस्तो थियो भन्ने कुरा यस कथाबारे तारानाथ शर्मा र बामदेव पहाडीका २०१८ सालमा प्रकाशित छुट्टाछुट्टै समालोचनात्मक लेखहरुबाट थाहा पाइन्छ ।”
कथाकार इन्दिरा प्रसाईले ‘कालो चस्मा’ वाचन गरेको उक्त कार्यक्रममा नेपाली कथाका अनुसन्धाताहरु समिना खनाल पृथा र पबित्रा अधिकारीले २०१८ सालमा साहित्यिक पत्रिका ‘बगैंचा’ का अङ्क १ र २ मा प्रकाशित उक्त कथामाथि तारानाथ शर्मा र बामदेव पहाडीका छुट्टाछुट्टै समालोचनात्मक लेखहरु वाचन गरे ।
समालोचकद्वय प्रा डा भरतकुमार भट्टराई र प्रमोद प्रधानले मूल कथा र पुराना दुवै समालोचनात्मक लेखहरुमाथि वर्तमान कोणबाट टिप्पणी गरे । डा भट्टराईले भने , “कुनै कथाकारले त्यत्तिकै कथा लेख्तैन । त्यसमाथि विजय मल्ल जस्ता अति व्यापक साहित्यिक पृष्ठभूमि पाएका र विश्वसाहित्यबारे पनि परिचित कथाकारले त्यत्तिकै कालो चस्मा लेख्नुभएन । देवकोटाले शाकुन्तल महाकाव्य लेख्ताखेरि पहिला चार पङ्क्तिमा नै शाकुन्तलमा के भएको छ र अन्तिममा के हुन्छ भन्ने संकेत गर्नुभए जस्तै यहाँ पनि कथाकारले शुरुमै त्यस घरभित्रको परिवेशबारेमा केही सूचना दिइसक्नुभएको छ, त्यहाँ लोग्नेस्वास्नीबीचको सम्बन्ध पनि व्यवस्थित छैन भन्ने संकेत गरिसक्नुभएको छ । आफ्नी श्रीमतीलाई छिमेकी पठ्ठोसँग यौन समागममा पाउँदा कथाको पात्रका मनभित्र दुइटा कुरा आउँछन् — आपूm नैतिक बन्ने कि नैतिकतालाई आँखा चिम्लेर सहिदिने ? मेरा दृष्टिमा ऊ एउटा चिन्तनशील पात्रका रुपमा आएको छ, आपैंm पनि कतै गएर आनन्दमग्न भएर मध्य रातमा घर आएको हुन सक्छ । कथाको यो पाटो पनि विचारणीय छ ।”
शर्मा र पहाडीका समालोचनाबारे उनले भने, “तारानाथको समालोचना अलिक परिपक्व खालको छ, उहाँलाई यस कथामा देखिएको नयाँ प्रयोग स्वीकार्य छ । बामदेवको लेख समालोचनाको सीमाभन्दा बाहिर गएको छ । उहाँको लेख समालोचनाभन्दा पनि तीतो अभिव्यक्तिका रुपमा आएको छ । उहाँले शालीन ढङ्गबाट पनि आफ्ना कुरा भन्न सक्नुहुन्थ्यो ।”
अर्का समालोचक प्रधानले भने, “नेपाली साहित्यमा यौन कथा निकैअघिदेखि लेखिन थाले पनि त्यस्ता कथाको सङ्ग्रह भने २०५४ सालदेखि मात्र आएका हुन् । विजय मल्ल उपन्यासकारका रुपमा विश्वेश्वरप्रसादभन्दा अघि आए पनि कथाकारका रुपमा भने पछि आएका हुन् ।”
अघिल्ला दुइटा समालोचनाबारेमा टिप्पणी गर्दै प्रधानले,“दुइटा समालोचनात्मक लेख पढ्दा त्यस बेलाको समालोचनाको स्थिति, समालोचनामा प्रस्तुत हुने विचार, समालोचनामा लेखिने भाषाबारे जान्न सकिन्छ । समकालीन पुस्तामा वैचारिक रुपमा एकले अर्काका कुरा काट्ने, विवाद गर्ने र तर्कहरु राख्ने त्यस बखतको तरीका देखिन्छ । अहिलेको साहित्यिक पत्रकारितामा यस प्रकारका समालोचनाहरु खोज्ने हो भने पाउन असम्भव छ ।”
कार्यक्रमलाई समापन गर्दै पुनर्जागरण अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले भने, “नेपाली साहित्यका यशस्वी साधक विजय मल्लको शतवार्षिकीको अवसरमा एउटा नौलो खालको कार्यक्रम गर्ने हाम्रो चाहना गत असारमा शतवार्षिकी शुरु भएदेखि नै थियो । तर पनि म आपैंm केही महिनाका लागि नेपालबाहिर रहेकाले एक वर्षभित्र उपयुक्त महिनामा अलिक तयारीसाथ गर्ने धारणा हामीले बनाएका थियौं । विजय मल्ल कवि थिए, कथाकार थिए, उपन्यासकार थिए, नाटककार थिए, निबन्धकार थिए र चलचित्र कथा लेखक पनि थिए । त्यति हुँदा पनि हाम्रो यो पुनर्जागरण अभियान विशुद्ध रुपमा कथा विधाप्रति समर्पित हुनाले यी सारा विधामा उनको योगदानको कुनै चर्चा नगरी उनको कथाकारिताभित्रको पनि जम्माजम्मी एउटा कालजयी कथामा मात्र केन्द्रीत रही यो कार्यक्रम आयोजना गरेका हुँदा आज कथा विधाप्रति साँच्चै नै पुनर्जागरणको लहर चलेको मलाई अनुभूत भएको छ ।”