काठमाडौं आम जनता पार्टी (आजपा) जानकी जयन्ती मनाउने निर्णय गरेको छ । आउदो ३ जेठमा आजपाले जानकी जयन्ती मनाउँने निर्णय गरेको हो । नेपाल, भारत सहित विश्वभरी रामनमी मनाउँदै आइएको भए पनि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको पहलमा विगतदेखी जानकी जयन्ती मनाउँने सुरुवात भएको थियो । तत्कालिन नेकपामा हुदादेखी नै साहको पहलमा जानकी जयन्ती मनाइदै आइएको छ । आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको पार्टीको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले जानकी जयन्ती भव्यरुपमा मनाउँने निर्णय गरेको उपत्यका विशेष कमिटीका सचिव सुनिता साह क्रान्तिले जनाएकी छन् । काठमाडौंको कुपण्डोलमा ३ जेठमा जानकी जयन्ती मनाउँने निर्णय भएको हो । आजपाले काठमाडौं सहित जनकपुरधामका साथै मधेसका बिभिन्न शहरमा जानकी जयन्ती भव्यरुपमा मनाउँने निर्णय गरेको छ । आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगर लगायतको विशेष सहभागिता रहेको पार्टीका स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जनाएका छन् । सोही बैठकका बीचमा नेकपा (एमाले) परित्याग गरी मोरंग जिल्ला कमिटीका सदस्य एवं एमाले निकटको निर्माण व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव केदार रिजाल, एमाले मोरंग जिल्ला कमिटी एवं अनेमसंघका नेतृ सरस्वती खरेल रिजालले आजपामा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष साहले राजनीतिक जिवनको सफलताको शुभकामना व्यक्त गरेका छन् । आजपा प्रवेश गर्नेलाई पार्टीमा सम्मानजनक र उचित जिम्मेवारी दिइने वरिष्ठ उपाध्यक्ष थापामगरले जनाएका छन् । यसैगरी बैठकले काठमाडौं महानगरद्धारा काठमाडौंका कवाड व्यवसायीहरुलाई दुख दिने नियतले सर्वोच्चको आदेश विपरित कवाडीमा डोजर चलाएपछि उनीहरुको रक्षाका लागि प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । कवाड व्यवसायीहरुको रक्षाका लागि विशेष पहल लिने निर्णय गर्दै बैठकले शान्तिपुर्ण वातावरणमा व्यापार व्यवसाय गर्न पाउने अधिकार कसैले खोस्न नसक्ने जनाएको छ । यस्तै पार्टीद्धारा लुटकारी भन्सार कानूनको व्यवस्था विरुद्ध जारी आन्दोलनलाई अझै शसक्त बनाउँने निर्णय समेत गरेको छ । भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गर्दै आजपाले विगत सात महिनादेखी आन्दोलन गर्दै आएको छ । पछिल्लो समय चौथो चरणको आन्दोलन अन्तरगत आजपाले गत २० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिदै आएको आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जु साहले जनाएकी छन् ।
आम सम्पर्क मञ्चको अगुवाईमा भन्सार विभाग घराउ तथा धर्ना कार्यक्रम निरन्तर जारी रहेको छ । मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । बैठकमा आन्दोलनको बारेमा रिपोटिङ पेश गर्दै उपाध्यक्ष ठाकुरले लुटकारी व्यवस्थाको विरुद्धमा जारी आन्दोलन अझै शसक्त बनाउँनुपर्ने सुझाव दिएका छन् ।
भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधानको व्यवस्था हटाउनुपर्ने, भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने, भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने माग आजपाको छ । यस्तै प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने, भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमासंग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने लगायतका माग आजपाको छ ।