
लघुकथा
पुष्पा शायरा
कस्को पालो ?
‘अब २२५ रुपैया बाँकी रह्यो है सन्तु ! तिमी कम्प्युटरमा छौ बुवाले हिसाब टिपेर दिनुभएको छ यी हेर त’ किरानाको लिस्ट भनेकी थिएँ।
हेर्दै नहेरी हुन्छ आन्टी भैहाल्यो नि भनेको थियो ।
त्यै सम्झेर २२५ बोकेर गएँ । सन्तु यि हिजोको पैसा राख भने उ त मसँग जंगियो पो ! हैन आन्टी ५२५ हो नि के भन्नू भएको भन्दै।
गाउँको पसल अनि आफ्नै छोराको उमेरको भएकाले छोरो जस्तै गरेर बोल्ने गरेकी थिएँ । मैले भने बाबु , बाँकी हिसाब तिमीलाई भनेर नै गएको हैन र हिजोको लिस्ट नै ल्याएको छु हेर त !
पुरै कुरा नसुनी उ त झन् झन् उल्टो पो खेद्न थाल्यो र एकोहोरो बोली रह्यो- ‘हैन आन्टी ५२५ नै भनेको छ बुवाले पनि ।’
मलाई पनि रिस उठ्यो त्यै मौकामा मैले भनेँ- ‘आज औषधी खान बिर्सिइस कि के हो केटा ?’
अनि त उसलाई पुगिहाल्यो पसलमा आएका मान्छेतिर फर्किएर फत्फताउन थाल्यो -‘हिजो अस्ति पो तपाईं नेता , अब हाम्रो पालो घण्टीले पुरै भोट ल्याएर चुनाव जित्यो बुझ्नु भो !’
ओहो ! त्रासदी जन्मियो कि के हो भने जस्तो लाग्यो ।मैले भने यति सोच्न सम्झन पनि भ्याएको थिएन -‘बाबु! हामी त मर्दा पर्दा काम लाग्ने भर अभर जन्ति मलामी पो हौँ त जुन पार्टी आएपनि एउटै गाउँ -ठाउँ राम्रोसँग मिलेर बस्ने हो नि आफ्नो काम गरेर बस्ने पो हो त सबैले सोच्ने आफ्नो देश विकाश मेल मिलाप शान्ति होइन र ?’
खै कस्को पालो कसको बाबु?
विराटनगर ।







