अब उप्रान्त
विषयगत विविधताका कथाहरुको संगालो अब उप्रान्त कथामा शैलिगत नविनताले लछप्पै भिजेको कृति हो । कथाकार नवराज रिजालद्धारा लेखिएका बस्ती देखि चाचाजी सम्म गरेर सत्रवटा कथाहरु यसमा समावेश गरिएका छन् । लामो समय शिक्षण पेशामा समय व्यतित गरेका रिजाल परिवर्तनका पक्षधर हुन् । यसैले उनमा प्रगतिशील चेतका लेखनी देखिन्छ । उनका कथाहरु समाजमा व्याप्त विकृति र विसंगतिप्रति लक्षित छन् । समसामयीक समाजका भोगाइहरुले भरिएका छन् । वर्तमान समाजका वरिपरिका पात्रहरु टपक्क टिपेर यहीं भेटिएका कथानकतामा कथा बुनेर लेख्न कथाकार रिजाल खप्पिस देखिएका छन् ।
समाजका दुख,ब्यथाहरु उनका कथाका विषयवस्तु बनेका छन् । सम्बन्धमा उत्पन्न भएका शंका र अविश्वासले सिर्जना गरेका धाँजाहरु कथाहरुले स्पष्ट औल्याएका छन् । भन्न सकिन्छ नेपाली समाजका सबैजसो भूगोलका राजनीतिक,सामाजिक,आर्थिक लगायतका हर क्षेत्रमा भएका विसंगतिहरु बिरुद्ध तीखो प्रहार उनका कथाका विशेषता बनेका छन् । उनको भोगाइ मात्र नभएर हामी आम भुइँमान्छेका कष्टसाध्य भोगाइ पनि कथानकता ढालिएको हामी पाउँछो । जनतालाई क्रान्तिको नाउँमा ढाल बनाउनेहरुले सत्ता स्वार्थको लागि कसरी जनतालाई भर्याँग बनाउँछन् भन्ने सजीव चित्रण गरिएका,राजनीतिक ब्यँगचेतले ओतप्रोत कथाहरु पनि यस कृतिमा पढ्न पाइन्छ । सन्देश प्रवाहतर्फ लक्षित कथाहरु,प्रयोगवादी कथाहरु पनि यस कृतिमा पढ्न पाइन्छ ।
सरल भाषामा लेखिएका, साधारण पाठकले सहजै पढेर अथ्र्याउन सक्ने कथा बुनोट गर्नसक्नु रिजालको खुवी हो उनी स साना हाम्रै वरपरका विषयवस्तुलाई टपक्के टिपेर कथा बुन्न सक्ने सामाथ्र्यका धनी कथाकार हुन् । कथातत्वका दृष्टिले भरिपूर्ण,संवादशैली,वर्णनशैलीमा सलल बगेका मध्यम आकारका कथाहरु,पठनीय छन् ।
उनलाई हेर्दा लाग्छ विचार,व्यवहार र व्यक्तित्वमा एकरुपता नवराज रिजालका विशेषता हुन् । यस्तै छन् कथाहरु पनि उनी त्यस्तै देखिन्छन् ।
अब उप्रान्तलाई अक्षरधाम नेपालले प्रकाशनमा ल्याएको हो ।
गाउँ फर्किरहेको परदेशी
यस अघि शान्तिको फूल गजलसंग्रह प्रकाशित गरेकी सयपत्री थुलुङ प्रवासमा बसेर त्यहाँको ब्यस्त दैनिकीबाट समय निकालेर नेपाली भाषा साहित्यमा सिर्जनाहरु गर्छिन् । प्रवासमा नेपाली संस्कृतिको महत्वलाई राम्रो संग बुझेकी उनका कविताहरुले पनि यहि नेपाल,नेपालका परिवेश,भूगोल,सहित यहाँका मनोरम प्राकृतिक छटा र पुराना दिनहरुप्रतिको नोष्टालिया गराउँछ यो गाउँ फर्किरहेको परदेशी कवितासंग्रहमा यस्तै भावहरु व्यक्त भएका कविताहरु छन् ।
कवि प्रकृतिका सुन्दर आयामहरुमा रमाउँछिन् ।परदेशमा बसेर जन्मेको गाउँको याद गर्छिन् । माटोको सुगन्धले उनलाई तानेको छ ।खेतखलियानमा उनी डुल्न चाहान्छिन् ।
कविताहरु कलात्मक छन् ।भाव प्रधान छन् । बैचारिक दृष्टिचेतले लेखिएका छन् । विभिन्न ३५ थान कविता यसमा संग्रहित छन् । प्रवासनमा बस्ने नेपालीहरुको अनुभूतिहरुलाई गहिराइमा पुगेर कोर्ने कविको सार्थक प्रयास कवितामा मुखरित भएको छ । प्रेमिल भाव,बाल्यकालीन याद, स्वेदश प्रेम,मुन्धुम,भाडाकुटीको स्मरण ,विदेशिनुको पीडा जस्ता भावहरु कविताहरुले पोखेका छन् ।
असाध्यै सुन्दर बिम्बहरुको सटिक प्रयोगले कविताहरु सुन्दर लाग्छन् । बोधगम्य भाषाशैलीले कविता भरिएका छन् । छोटा र छरिता शैलीले कवितामा प्राण भरेका छन् । जीवनका अनेकानेक आयामले भरिएका ओजनदार कविताहरुमा विभिन्न प्रतिकहरुको आवश्यकतानुरुप प्रयुक्तिले पनि कविता सुन्दर बनाएका छन् ।
गाउँ फर्किरहेको परदेशी विश्व नेपाली साहित्य महासंघले प्रकाशनमा ल्याएको हो ।
मिराज
ध्रुवकृष्ण ताम्राकार नेपाली समाजका अवयवहरुमा भिजेर कथा लेख्छन् । समाजमा भित्रभित्रै दवेका कुराहरु बाहिर्याउन उनी माहिर छन् । समाजकै वरिपरि उनका कथाहरु घुम्छन् । मान्छेकै दैनिकी र जीवनगाथाहरुमा थाहरु उधिन्छन् । मिराज उनको दोस्रो कथासँग्रह हो । यसमा संग्रहित कथाहरु मान्छेका विडम्बना र नियतीहरुप्रति लक्षित गरिएर लेखिएका छन् । हाम्रा समाजका अनि हामै समयका वरिपरि कथाहरु घुमेका देखिन्छन् । भुइँमान्छेका पीडा,छटपटीहरुतर्फ पनि कथाका नजर परेका छन् । सम्बन्धका उतारचढावहरु ,परदेशीका पीडाहरु लगायतका विषयमा ११ थान कथाहरु यस कृतिमा समावेश भएको पाइन्छ । कथामा जीवनप्रतिको आशावादी चेत प्रकटीकरण भएका छन् । यसमा महिलाबादी चेतका कथा पनि छन् जहाँ महिलाका यावत समस्याहरु देखाइएको छ । प्रेम र विछोडका कुरा पनि गर्छन् कथा मार्फत ताम्राकार । कथामा नेवारी संस्कारको झलक पनि यदाकदा पाइन्छ ।
विस्तारित आयाममा आएका कथाहरु आएका छन् । मझौला कदका कथाहरु,भाषामा सरलता,बिम्बात्मकता,छोटाछोटा बाक्यका बनोट कथाका प्राण हुन् । पढ्दा रोचकताको भरपुर आनन्द लिनसक्ने कुतुहलता लाग्ने,पढ्दै जाँदा सकिएको पत्तै नपाइने कथाहरु छन् ।यो संग्रहमा आम मान्छेका पीडाहरु जीवन्त बनेर आएकाले भन्न सकिन्छ यो तपाई हाम्रै कथा हो । मीठा शब्दमा सम्बाद गरिएका,जटिल भाषा प्रयुक्त नभएका विषयगत विविधताका कथाहरुले पाठकको मन तान्न सक्छन् ।
मिराज अक्षरमार्गले प्रकाशनमा ल्याएको हो ।