काठमाडौं ।प्रणय दिवस (भ्यालेन्टाइन डे) को पूर्वसन्ध्यामा स्वयम्भूको शान्त वातावरण समकालीन नेपाली कविताको गुञ्जनले तरङ्गित बन्यो। ‘वर्तमान कविता समूह’ले होटल नयनमा आयोजना गरेको ‘काव्यिक प्रणय-साँझ’ विशेष कविता वाचन कार्यक्रममा २४ जना कविहरूले प्रेमलाई परम्परागत रोमान्टिक घेराभन्दा माथि उठाएर सामाजिक, मनोवैज्ञानिक र राजनीतिक दृष्टिकोणबाट प्रस्तुत गरे।
वाचन गरिएका कविताहरूले प्रेमलाई केवल व्यक्तिगत भावनामा मात्र सीमित नगरी व्यापक सामाजिक संरचनासँग जोडिएको एक जटिल मानवीय अनुभवका रूपमा प्रस्तुत गरेका थिए। कविहरूले विद्रोहभित्रको प्रेमको शक्ति र उत्पीडन एवं द्वन्द्वका विरुद्ध प्रेम कसरी प्रतिरोधको माध्यम बन्न सक्छ भन्ने कुरालाई उजागर गरे। यसका साथै, पुँजीवादी व्यवस्थाभित्र आधुनिक मानवीय सम्बन्धहरू टिकाइराख्न कति चुनौतीपूर्ण छ र प्रविधिको बढ्दो प्रभावका बीच प्रेमको आदर्श कसरी बाँचिरहेको छ भन्ने प्रश्न पनि कविताहरूमा उठाइएको थियो। विछोडको मनोवैज्ञानिक पक्षदेखि श्रम र सङ्घर्षसँग जोडिएको प्रेमसम्मका विषयलाई कविहरूले बहुआयामिक ढङ्गले प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै वर्तमान कविता समूहका सदस्य विश्व सिग्देलले समूहको उद्देश्य प्रेमका विषयमा मात्र सीमित नरहेको बताए। उनले यसअघि पनि श्रम, पर्यावरण र सामाजिक न्याय जस्ता विविध र समसामयिक मुद्दाहरूमा केन्द्रित भई कार्यक्रमहरू आयोजना गरिएको र आगामी दिनहरूमा पनि यस्ता विषयगत साहित्यिक बहसहरूलाई निरन्तरता दिइने उल्लेख गरे।
साहित्यको भविष्य र पहुँचका बारेमा चर्चा गर्दै समूहका अर्का सदस्य धीर कुमार श्रेष्ठले समूहले अनुवादका परियोजनाहरूमा पनि सक्रियताका साथ काम गरिरहेको जानकारी दिए।
कार्यक्रममा कवि स्नेह सायमीले जनयुद्ध, अस्तित्वको प्रेम र वर्गीय सङ्घर्षको सत्य घटनाको कविता बन्दुक र रातो गुराँस वाचन गरे ।
किशोर पहाडीले प्रेमको सरल तर जीवन्त दर्शनको कविता प्रेम शीर्षकमा बुनेका थिए भने उनले चोटिलो मुक्तकबाट कविता वचनको थालनी गरेका थिए ।
सुधीर ख्वबीको एकदिनको फागुको अर्थ कवितामा प्रेम र दैनन्दिनीको जीवन्त तस्विर थियो भने वसन्त नकर्मीको अग्लिएको यादले प्रेमको हृदयतत्त्वको तड़प र यादको बरदानको सङ्केत गरेको थियो ।रामगोपाल आशुतोषको कविता एक आर्किटाइप प्रेमले प्रेम र संघर्षको जीवन्त बयान गरेको थियो ।
अभय श्रेष्ठको व्यस्त सहरको शान्त बिसौनी , राधिका कल्पितको प्रणयको पहिलो प्रहर, रजनीमिलाको एक प्रेमिल साँझ, दिलकुमारी डंगोलको मन , शोभा सरभको सपनाको कथा , दीप्स शाहको एम्बुस जस्ता आँखा, लक्ष्मी रुम्बाकोइ घरबुना प्रेम, विणा नेम्कुलको भर्चुअल प्रेम, रहेना नक:मी मानन्धरको गोधुली साँझमा मेरो प्रेम, विष्णुकला राईको सिजोफ्रेनिया, मञ्जु श्रेष्ठ सिंहको अनुरोध मेरो प्रियलाई, तपन जीएमको जीवन,अनुभूति र प्यार, रश्मी रिजालको तिमी, समाश्रीको मनको अग्निकुण्ड, विश्व सिग्देलको तिम्रो अनुपस्थितिमा, धीर कुमार श्रेष्ठको प्रेमको महासागर, चन्द्रबहादुर लामाको अनन्त प्रतीक्षाको कथा , दीपक चौलागाईंको तिमी छौ र त र रमी प्रियाको यात्रा शीर्षकको कविताले प्रेमका विविध आयाम बोकेका थिए।
साहित्यिक सम्मानस्वरूप सहभागी सबै कवि तथा अतिथिहरूलाई पेल स्याडोज् एट डस्क र प्रेमको आदिम गीत पुस्तक उपहार प्रदान गरिएको थियो।
बौद्धिक र सामूहिक साहित्यिक उत्सवका रूपमा सम्पन्न उक्त साँझको समापन रात्रिभोजसँगै भयो, जहाँ सहभागीहरूले नेपाली साहित्यको वर्तमान अवस्था र आगामी दिशाका बारेमा थप अनौपचारिक छलफल गरेका थिए।