काठमाडौं। सुरभिको स्थापना सहिद दिवसको सन्दर्भ पारेर सुरभि साहित्य प्रतिष्ठानको १८औँ वार्षिकोत्सव, अभिनन्दन ,पुरस्कार अर्पण तथा पुस्तक लोकार्पण कार्यक्रम जोरपाटी, बेँसीगाउँस्थित ढोल्खाधारो कृष्ण मन्दिर कुटीमा सम्पन्न भयो।
बाजुराम प्रसाद पौडेलको सभाध्यक्षता ,गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन, सुरभिका पूर्व संरक्षक वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको तस्बिरमा माल्यार्पण र सुलेख विजय चालिसे अङ्क लोकार्पण गरियो ।
कार्यक्रममा वरिष्ठ विद्वान ,साहित्यकार अभि सुवेदीलाई अभिनन्दन गरिएको थियो भने गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार-२०८२ बाट वरिष्ठ आख्यानकार खगेन्द्र सङ्ग्रौला, सुरभि बाजुराम आख्यान साधना पुरस्कार -२०८२ बाट वरिष्ठ कथाकार सुशीला प्रधानाङ्ग, सुरभि विजय वाङ्मय पुरस्कार- २०८२ बाट वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारी र सुरभि रमाबद्री निबन्ध पुरस्कार -२०८२ बाट वरिष्ठ निबन्धकार रामप्रसाद पन्तलाई पुरस्कृत गरिएको थियो। अभिनन्दित र पुरस्कृत व्यक्तित्वका बारेमा वरिष्ठ समालोचक युवराज मैनालीद्वारा परिचय प्रस्तुत गरिएको थियो।
कार्यक्रममा लघुकथाकार युवराज मैनालीको लघुकथासङ्ग्रह ‘पात्र विघटन’ को लोकार्पण गरियो। सो पुस्तकका बारेमा वरिष्ठ लघुकथाकार महेश प्रसाईले समीक्षा गरे ।
मन्तव्यको क्रममा प्रमुख अतिथि दीपककुमार रिसालले नगरपालिकाले साहित्यलाई विशेष महत्त्व दिएको कुरा धारणा व्यक्त गरे।
अभिनन्दित व्यक्तित्व प्रा.डा. अभि सुवेदीले अङ्ग्रेजी र नेपाली साहित्यलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए। पुरस्कृत व्यक्तित्व सुशीला प्रधानाङ्गले महिलाहरूले पनि म सक्छु भनेर साहित्यमा अगाडि बढ्नुपर्ने कुरा बताए । अर्का पुरस्कृत व्यक्तित्व खगेन्द्र सङ्ग्रौलाले स्रष्टाले समाजमा भएका कुराको यथार्थ चित्रण गर्नुपर्छ भन्ने भाव अभिव्यक्त गरे।
कार्यक्रममा स्रष्टाहरू श्रीहरि फुयाँल ,गोपी मैनाली ,दिनेशराज पन्त र खगेन्द्रप्रसाद लुइटेलले मन्तव्य राखे।
मुक्ति गौतम, ललिता दोषी,महेन्द्र चालिसे ,मधुसुदन प्रसाद घिमिरे र परशुराम पराशरले लघुकथा वाचन गरे। प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले स्वागत मन्तव्य ,प्रतिष्ठानका सदस्य वसन्त रिजालले संस्थाको गतिविधि र प्रतिष्ठानका सचिव अच्युत घिमिरेले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम प्रसाद पौडेले धन्यवादसहित समापन गरे।