
कविता
प्रेम कि आसक्ति
शुषमा चित्रकार
हरेक पल पछ्याइ रहनु
उसको बानी हो, या आवश्यकता
मैले खोजिनीति गरिनँ ।
मेरो उपेक्षामा पनि
पटक्कै नरिसाई
सामिप्यताको लागि अनुनय
एकोहोरो अनुराग गाइरहनु
प्रेमको उँचाइ हो कि
मात्र उसको आसक्ति,
शँकै लाग्छ !
कैले हाकाहाकी
कैले अरुका नजर छली
ऊ साउती गर्छ, स्पर्शले छेडछाड
र मभित्र जगाउन खोज्छ रोमान्च
बेला न कुबेला ।
कैलेकाहीँ छक्क पर्छु
आफ्नै कठोरतामा,
हो म निष्ठूर भएकी छु
मलाई फकाउने
उसकोे अनवरत प्रयासमा पनि पग्लिन्नँ,
विरक्त लाग्छ, “खै किन सताउँछ १”
बिना ढक्ढकाएरै
निर्लज्ज ऊ
धेरै पटक एकान्त बिथोल्न आइपुग्छ
त्यसपछि उसलाई बाहिर पठाउन
कम्ती महाभारत हुन्न ।
मैले नचाहेर पनि
उसको उर्लिएको माया
ममा यत्रतत्र देखिएका
उसका उपस्थितिका दागहरु
सोध्नेलाई स्पष्टिकरण दिँदादिँदा
लज्जित, हैरान हुन्छु ।
मेरा इच्छा÷अनिच्छाप्रति लापरवाह
उसको असम्वेदनशिलता
अनि ढाँटेर, अरुप्रति पनि त्यही अनुराग
त्यही प्रशंसा, त्यही प्रणय निवेदन
खोक्रो उसको देखावटीपन
अति भो, इनफ इज इनफ ।
अब उसको पहुँचबाट टाढा
दुरी राख्नु छ मलाई
उसको कुत्सित चेष्टाबाट टाढा
आफूलाई लुकाउनु ध्यय बनेको छ ।
बन्द झुल
र कोठाभित्र फैलिएको म्याटको तीव्र गन्धमा
पक्कै थाहा पायो होला अब त
आवारा लामखुट्टेले
कि ऊ गुन्गुनाएर मलाई बहकाउन सक्दैन
फकाउन सक्दैन,
स्पर्श गर्दैमा आफ्नो बनाउन सक्दैन ।







