
चर्चामा पुस्तक
जस्तो सोच उस्तै संसार
शिवराज बस्नेत ‘बशिरा’ को यो मान्छेलाई उत्प्रेरणा जगाउने कृति हो ।यसमा मानव जीवनको सार्थकता खोज्ने प्रयास छ । सकारात्मक भाव जागृत गराउन सघाउ दिने पुस्तकले मानिसलाई खुशी हुन सिकाउँछ । राम्रा काम गरेर जीवनको लक्ष्य पुरा गर्न सम्झाउँछ । घोडा चढ्ने मान्छे नै लड्ने हो,उकालो चढ्ने नै गुड्ने हो । तर प्रयासले लक्ष्य हासिल हुन्छ भन्ने कृतिले सन्देश प्रवाह गरेको छ । हरेक कुरा र विषयमा बुझाई आआफ्नो भएपनि सबैको अन्तिम उदेश्य भनेको सकारात्मक हुनुपर्छ ।हर चूनौतीको सामना गर्न मान्छेले तत्परता देखाउनुपर्ने भावमा पुस्तक आएको छ।
फूलको आँखामा फूलै संसार भन्ने पुस्तकको मूल मर्म छ ।
गोपीकृष्ण ढुंगानाले सम्पादन गर्नुभएको प्रस्तुत कृति सरल भाषामा उनिएको छ । सामान्य पाठकले पनि पुस्तकको भाव खुट्याउन सक्छ ।
जस्तो सोच उस्तै संसारलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.३९०। रहेको छ ।
पूर्वी नेपालका लोकगीतहरु
यो खोज अनुसन्धानात्मक कृतिलाई सुनिता भट्टराईले लेख्नु भएको हो । यसमा पूर्वी पहाडमा प्रचलित लोकगीतका सन्दर्भमा खोज,शोध,अध्ययन अनुसन्धान गरिएको छ ।प्रस्तुत कृतिले लोकगीतको सैद्धान्तिक परिचय सहित नेपालमा प्रचलित नेपाली लोकगीतहरुको प्रकारको वारेमा विस्तृत जानकारी दिएको छ ।
यसभित्र एकोहोरी,दोहोरी,संगिनी,बाल,बालन,भजन,असारे,दाइँ जस्ता नेपालमा प्रचलित गीतहरुको परिचय दिने प्रयास गरिएको छ । यसका साथै पूर्वमा प्रचलित रत्यौली,सिलोक,खाँडो,देउसी,भैलो जस्ता गीतहरुको जानकारी,विशेषता थाहा पाउन पनि कृति महत्वपूर्ण देखिन्छ ।
विशेषत पूर्वी नेपालमा प्रचलित विभिन्न लोकगीतहरुको बारेमा कृतिले महत्वपूर्ण जानकारी दिएको छ ।
पूर्वी नेपालका लोकगीतहरुलाई सुरभि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । यसको मूल्य रु.३००। रहेको छ ।
जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी
नरेन्द्रबहादुर श्रेष्ठको यो कृतिले राणाकालीन अन्तिम अबस्थाको केही ऐतिहासिक झल्को दिएको छ । ऐतिहासिक दस्तावेजहरु पनि यसकृतिभित्र देख्न,पढ्न पाइन्छन् ।पुराना उद्योगपतिका जीवनका विभिन्न अवयवहरु जानकारी पनि पाइन्छ ।
उनको राजनीति,शिक्षा र समाजसेवामा रहेको योगदानको जानकारी दिन्छ । राणाकालीन प्रधानमन्त्री पद्यशमसेरदेखि बिपी कोइरालाका स्वकीय सचिवसमेत रहेका श्रेष्ठका विभिन्न भूमिकाको समेत कृतिले जानकारी दिएको छ । कृतिभित्रका विभिन्न अभिलेखहरु दुर्लभ र महत्वका पनि रहेका छन् ।
जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणीलाई साहित्यिक पत्रकार संघले प्रकाशित गरेको हो । यसको मूल्य रु.९००। रहेको छ ।







