
आइतबार, काठमाडौँ | पिंगलास्थानस्थित सेभेन स्टार पोइन्ट होटल मा चियासँग वर्तमान कविता समूहको मासिक काव्य कार्यक्रम पहिलो श्रृंखला सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न कविले आफ्ना सिर्जना प्रस्तुति गरेका थिए।
कार्यक्रममा कवि सुमन थापा संगमले “हृदय दुखेको बखत” र “प्रेमको रंग” शीर्षक प्रेम तथा अनुभूति प्रधान कविताहरु वाचन गर्नुभएको थियो। त्यस्तै, कवि राधिका कल्पितले “तिमीसँग यसरी भेट नभएको भए हुन्थ्यो” नामक प्रेम कविता तथा “के म तिमीलाई बिर्सन सकूँला” शीर्षक जेन जि सहिदप्रति समर्पित कविता मार्फत सामाजिक स्मृतिलाई पनि काव्यात्मक आवाज दिनुभएको थियो। कार्यक्रममा कवि विणा नेम्कुलले “निर्वस्त्र”, “मेरो व्यस्तता” र “एक धर्को सिन्दुर” कविता प्रस्तुत गर्दै जीवनका विविध आयामलाई शब्दमा उत्रिएका अनुभूतिले भरपुर पार्नुभएको थियो। कवि शोभा सरभले “ईच्छा पत्र” सहित सशक्त कविता “क्षतिपूर्ति” वाचन गर्दै सबैकोको मनमा गहिरो छाप छाड्नुभयो। यसैगरी, समिश्रण धाराले “गीत” र “हार्दिक आभार” प्रस्तुत गरी काव्य कार्यक्रमलाई संगीतात्मक अनुभूतिसँगै धन्यवादको भावसम्म पुर्याउनुभयो।
कार्यक्रममा कवि विश्व सिग्देलले प्रेम र अहम् बिचको सम्बन्धलाई मध्यनजर गर्दै अहम् हावी हुँदा कसरी प्रेमको अवसान हुन्छ भन्ने भावको “प्रेम एक आत्मश्लाघा” कविता वाचन गर्नु भएको थियो। कवि चन्द्रबहादुर लामाले समयको कृत्रिमता तथा आडम्बरको युगलाई चित्रित गर्दै “रातो कार्पेट” कविता वाचन गर्नुभयो। त्यसैगरी, कवि रमी प्रियाले “नदी आफै बाटो बनाउँछ” र “जिद्दी तिमी” कविता वाचन गर्दै व्यक्तिगत अनुभूति र संघर्षका भावलाई शब्दमा उभ्याउनु भयो।
हरित कविता लगायत बिभिन्न बिषयमा काव्य गोष्ठी गर्दैआएको वर्तमान कविता समूहले आगामी दिनहरुमा यस श्रृंखलालाई पनि निरन्तरता दिँदै जाने समूहका प्रतिनीधि विश्व सिग्देलले बताउनुभयो। त्यसैगरी, समूहका अर्का प्रतिनिधि चन्द्रबहादुर लामाले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वसामु पुर्याउन वर्तमान कविता समूह हरदम लागिरहने कुराको जानकारी दिनुभयो भने रमी प्रियाले समूहको आगामी कार्यक्रमहरू अन्य दिग्गज साहित्यिक व्यक्तित्वहरूको सामिप्यमा रहेर गरिने जानकारी दिँदै चियासँग वर्तमान कविता कार्यक्रमको समापन गर्नुभयो।







