काठमाडौँ । सार्क साहित्य पुरस्कार (सन् २०१९ र २०२३) सहित थुप्रै प्रतिष्ठित सम्मानबाट विभूषित कवि, निबन्धकार तथा अनुवादक भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम ‘आवाज र अनुभूति’को दोस्रो शृंखला अन्तर्गत काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । नेशनल कलेज, प्रगति टोल, धुम्बाराहीमा अपराह्न ३ बजे सुरु भएको कार्यक्रम करिब एक घण्टा चलेको थियो । सारांश नेपाल र शिखा बुक्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम ३५० रुपैयाँ टिकट दरमा आयोजना गरिएको थियो र कार्यक्रममा साहित्यप्रेमीहरूको उत्साहप्रद उपस्थिति देखिएको थियो । दिग्गज कवि, साहित्यकार, समालोचक र पाठकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप गरिमामय र भव्य बनाएको थियो ।

कार्यक्रमको सुरुआत विश्व सिग्देलले कवि उप्रेतीको कविता वाचन गर्दै उपस्थित श्रोताहरूलाई स्वागत तथा कवि परिचय गराएर गरेका थिए । त्यसपछि भीष्म उप्रेतीले ३९ वटा कविता वाचन गर्दै आफ्ना काव्यिक चिन्तनका विविध आयाम प्रस्तुत गरे । उनले वाचन गरेका कविताहरूले मानवीय संवेदना, जीवन र समयबोध, प्रेम, स्मृति, समाज, युद्धविरोध, विद्रोह, प्रकृति, गाउँ र विकासको द्वन्द्व, आत्मबोध तथा पृथ्वीप्रतिको उत्तरदायित्व जस्ता विषयलाई समेटेका थिए । ‘प्रार्थना’, ‘आँसु’, ‘मुस्कान’, ‘आमा’, ‘मुटु’ र ‘तिम्रो आँखामा’ जस्ता कविताले मानवीय करुणा, प्रेम र सम्बन्धको अन्तरङ्ग संसारलाई उजागर गरे भने ‘घडी’, ‘बिचमा’, ‘बाटो’, ‘पन्ध्र मिनेट’ र ‘थोपा थोपा जिन्दगी’ जस्ता कविताले जीवनयात्राको क्षणभङ्गुरता र समयको निरन्तर प्रवाहलाई काव्यात्मक ढङ्गले प्रस्तुत गरे ।
त्यस्तै, ‘हामीलाई नमार’ कविताले युद्धले बालबालिकाको भविष्य नष्ट गर्ने यथार्थप्रति तीव्र विरोध जनायो भने ‘विद्रोह’, ‘मूखुन्डो’ र ‘अन्धो’ जस्ता कवितामा सामाजिक ढोंग, विसंगति र अन्धोपनप्रति कविको असहमति प्रकट भयो । ‘नदी र कवि’, ‘प्रकृति’, ‘वसन्त’, ‘समुद्र’, ‘पात’, ‘इन्द्रेणी’ र ‘चराहरू’ जस्ता कवितामा प्रकृतिलाई सौन्दर्यको विषय मात्र होइन, जीवन बुझ्ने दार्शनिक माध्यमका रूपमा प्रस्तुत गरिएको थियो । चारवटा ‘गाउँ’ शीर्षकका कवितामार्फत उप्रेतीले ग्रामीण जीवनको परिवर्तन, विकासको नाममा भइरहेको विस्थापन, पर्यावरणीय संकट र पहिचानको प्रश्नलाई गहिरोसँग उठाएका थिए ।
यसैगरी ‘आत्मविश्वास’, ‘प्रश्न’, ‘अनुभूति–१’ र ‘अनुभूति–२’ जस्ता कविताले मानिसको आत्मिक खोज, चेतनाको विकास र पृथ्वीप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेका थिए । कार्यक्रमभरि श्रोताहरू गम्भीर, भावुक र तल्लीन देखिन्थे । सहभागीहरूले उप्रेतीका कविताले कविता सुन्ने मात्र होइन, जीवन, समाज र समयलाई नयाँ दृष्टिले हेर्न प्रेरित गरेको प्रतिक्रिया व्यक्त गरेका थिए ।
भीष्म उप्रेती (जन्मः २०२४ माघ, झापा) का कविता, निबन्ध, नियात्रा र उपन्यास गरी २४ वटा कृति प्रकाशित छन् । उनका कृतिहरू अङ्ग्रेजी, हिन्दी, सिँहाला, फारसी, टर्किस, जापानी, खमेर, बङ्गला, अरबी, मले र चिनियाँ भाषामा अनुवाद भइसकेका छन् । हाल उनी पेन इन्टरनेशनलको नेपाल च्याप्टर ‘पेन नेपाल’ का अध्यक्षसमेत रहेका छन् ।
कार्यक्रमले नेपाली साहित्यमा टिकटमा कविता वाचन संस्कृतिलाई पुनः जीवन्त बनाउने महत्वपूर्ण प्रयास भएको सहभागीहरूको भनाइ थियो ।