
समीक्षा
रे लघुकथा भित्रको रहस्य
रुपा रिसाल
लघुकथा समाजको ऐना हो, मानवीय रुपरेखा हुबहु छर्लङ्ग देख्न सकिन्छ । सत्य कुरा कहिल्यै पनि लुक्न सक्दैन । ध्रुवसत्य र सान्दर्भिक विषय पनि छिप्न सक्दैन, दुरुस्तै देख्न पाइन्छ । मानवीय जीवनशैलीलाई समाजिक, आर्थिक र राजनीतिकले गाँजेको हुन्छ । सामाजिक संरचना माथिको अध्ययन गरी जस्ताको जस्तै देखिन कलात्कम रुपमा कथामा परिस्कृत गर्नु कथाकारको शील्प रचनामा भरपर्दछ। शाव्दिक अर्थमा वेग्लै तरङ्ग ल्याउन कथाकारले समाजमा देखिएका पात्रको मनोभाव केलाएर लेख्नुभएको हुन्छ । लघुकथामा देखिने पात्रहरुका भावना साट्ने गरी सम्बादहरुले झनै हृदयमा अनौठो छाप बनाईदिन्छ ।
अनुसन्धनात्मूलक अध्ययनले उत्कृष्ट लघुकथा पस्किन सफल हुनु भएका कथाकारको सामाजिक अध्ययन र समय सिमाले निर्धारण गरेका कलात्मक शब्दहरु पाइन्छ । मान्छेले सदकर्म गरेका छन् कि गलत कर्म गरेका छन् जुन मनसायले गरेका छन् उस्तै प्रतिफल पाउँजे हो । मानवीय सदकर्मले डोर्याउँदा कर्तव्यमा विचलित हुन सक्ने भावनात्मक निचोड अक्षरहरु पोखिएको छ । मानिसभित्र हुनुपर्ने दया, माया विवेकपूर्ण विचारहरुले ओतप्रोत शब्दजाल उनिएकाछन् । समाजमा प्रभावपार्ने तत्वहरु राजनीतिज्ञ लगायत सत्ता पक्ष अनि राज्य संचालनमा देखिएका विकृतिको रुप नियाल्नु भएको छ । सत्ताको आडमा कृपा पात्र बनी जीवन चलाउने प्रवृत्तिको हावी व्याप्त छन् । समाजिक र राजनैतिक विद्रोहलाई नयाँ रुपमा परिष्कृत गर्न सफल कथाकारको परिचय बनाई सक्नु भएका कथाकारले पर्यावरण नौलौ हुँदै गएकोमा आक्रोस समेत पोख्नु भएको छ ।
लघुकथा रे भित्र समेटिएका ५४ वटा लघुकथाले मानवीय कर्म, सम्बेदना अनि सून्य सहनशीलताको सम्बोधन गरेको छ । सामाजिक विकृति र विसंगतिबाट समाजमा पर्न गएका प्रभावले मानिसले भोग्नु पर्ने दु:ख र सुखका अनुभूतिलाई प्रष्ट्याउनु भएको छ । विभिन्न पेशा, व्यवसाय र संस्थामा आवद्ध व्यक्तिको चरित्र र सर्वसाधारण मानसिक चेतनाको समावेश भएका छन् । समाजिक कुरीति र अन्धविश्वासको प्रारुप अन्धकारमा रुमलिएका मानिसहरुको क्रियाकलापलाई दुरुस्तै उतार्नु भएको छ । लघुकथाले राज्य व्यवस्था र सामाजिक रुपको सम्बोधन गरेका छन् । संस्थागत स्वार्थका लागि मरिहत्ते गर्ने नेतृत्व वर्गले दिएका झूठा आश्वासन बाढ्नाले सामाजिक विग्रह ल्याएर समाज उठ्न नसकेको विषयलाई हृदयङ्गन गरी कलात्मक विश्लेषण गर्न सफल कथाकारको परिचय बन्न पुगेको छ ।
मानिसहरुका सुखदु:ख, मायास्नेह, प्रेम विछोडले कहिले कुन मोड लिन्छ थाहा नै हुँदैन । मान्छेको दैनिकी आफ्नै गति हुन्छ कोही सुस्तरी हिँड्छन् त कोही शिखर छुन खोज्छन् उनीहरुको भौतिक र मनको दूरी नाप्न र जोड्न कदापि सजिलो छैन । समाज वरपर बसेका विभिन्न वर्ग समुदाय र मानिसका स्त्री जात र पुरुषको मनोभावना भित्र खेल्ने भिन्नै हुन्छ । प्रकृति र आकृति जस्तै फरक खाल स्वभावले नै उनीहरुको क्रियाकलाप पनि वेग्लै हुन्छ । कुनै पनि गम्भीर विषयलाई हँसाउने गरेर रोचक शैलीमा लेखिनु र पृथक दृष्टि एवम् पृथक शैली कृतिकारको खास विशेषता देखिन्छ । लघुकथाले मानवीय चरित्र र समामाजिक विद्रोहलाई तुलनात्मक रुपमा परिमार्जन गर्न बौद्धिक वर्गलाई आग्रह समेत गर्नु भएको छ।
वर्तमान अवस्थामा उच्च पदीयको लोभ र राजनैतिक प्रभावले आम जनमानसमा पर्न गएको पारिवारिक विखण्डन, गरिबी अनि मानसिक पीडाले अछुत रहन सकेको छैन । भौतिक र मानवीय भावमा समग्र जीवन संघर्ष र विकृतिलाई शुक्ष्म रुपले नजिकैबाट नियाल्न सकिन्छ । दैवी प्राकृतिक कष्ट भुईचालो जस्ता त्रासमा बाँचेका मानव मस्तिष्कले पाएका चोटहरुमा ओतपोत भएका मनोविज्ञान समावेश गरिएका छन् ।
लघुकथाभित्र रे नेपाली समाजका वरपर घट्ने र घटिरहेका सामान्य र गहन विषयलाई शब्द मार्फत व्यक्त गरिएकोछ । समाजिक रूपको उदाङ्ग चरित्रलाई दुरुस्तै लघुकथामा तयार पारिएको छ । समाविष्टी भावमा विसंगतका उठानले भावि पुस्ताको सोच बदल्न सकूँन् भन्ने विचार राखिएक छ । युवा र पौढको बिच पुस्तान्तरणको विचार विमर्श नबुझिंदा अब कुन मोडमा जाने भन्ने जिज्ञासा पनि राख्नु भएको छ । हरेक कथाभित्र अब के हुने भन्ने कौतुहल हुँदा हुँदै कथा समापनले पाठकले आफ्नै कल्पनाशील मन मष्तिष्कमा चित्राङ्गत गर्न सक्छ । समग्र कथामा केहि न केही गहन दृष्टिका ज्ञान र नैतिकताको छाप रोप्न सफल देखिनु हुन्छ । सरल र शाब्दिक छेडखान अनि व्यङ्ग्यात्मक शैलीले प्रत्येक हरफ पढूँ पढूँ लाग्ने भाव जाग्दछ । कथाभित्र देखिएका पात्रहरुको मजबुरी, दु:ख, पीडा स्वार्थमा गाँसिएका समाज र जीवनशैली पनि चाखलाग्दा छन् । मानवीय आशक्ति, भावनात्मक प्रेम विछोडका बर्णनात्मक रुपमा देखिएका छन् ।
राजनीतिक हस्तक्षेपले सामाजिक विखण्डनमा उथलपुथल पारेर विरुपता ल्याएर आम जनमानसका व्यवहारिक पक्षमा पर्न गएको असर औल्याउनु भएको छ । समाजमा व्याप्त आर्थिक र व्यवहारिक पक्षमा पर्न गएको क्षतिले पारिवारिक विखण्डन हुन पुगेको छ । गरिबी र कारण युवाहरू विदेश पलायन प्रवृतिले परिवार र देशमा पर्ने पीडालाई देखाइएको छ । विद्यमान राज्य सत्ता र स्वार्थको राजनैतिक कुकर्मले थिलो थिलो भएको राष्ट्रमा बाँच्न विवश जन समुदायको ऐनालाई छर्लङ्ग उतारिदिनु भएको छ । सामाजिक मूल्य मान्यता र संस्कार विहीन मानव कुन मार्गमा हिड्दै गएको छ र कसरी यस्को निरुपण हुने विषयलाई चिन्तन मनन गर्न विलम्ब भएको अवगत गराउँदै मान्छेका आचरण समेतलाई विम्बात्मक रुपमा प्रस्तुत गर्नु भएको छ । लघुकथा मार्फत सामाजिक आर्थिक र राजनैतिक चेतलाई ब्यूँझाउने कोशिस गर्नु भएको छ ।
लघुकथाका हिमायती प्रखर सुमन सौरभले आफ्ना बौद्धिक विचारधारा प्रस्तुत गर्नु भएको छ । लघुकथा लेखन क्षेत्र वि स. २०४७ सालमा उदाएका कथाकारको मधुपर्कमा लघुकथा प्रकाशनपश्चात् थुप्रै लघुकथामा परिचय बनाइसक्नु भएका सुमन सौरभले तीन दशक लामो सामाजिक अध्ययन र विवेचनापूर्ण लेखन कार्यमा कलात्मक शीपले अझै निखारको बाढी आएको देखिन्छ । व्यक्ति विशेषले यो समाजमा पहिचान र छाप छोड्न कति संघर्षरत हुनुपर्छ । मोति टिप्न पनि त गहिरो सागरमा पौडिदैं डुब्न पर्छ । अनुभूतिले कहिले सुख अनि दुखका पलहरुको चित्राङ्ग गर्न सक्नु नै सफल कथाकार हुन् ।
मानवीय भावमा आँसु र पसिनाको महत्व कति धेरै छ तिनका रङ देखिने मात्र हैन बास्नाले मात्र पनि थाहा पाउन सकिन्छ । तर ठेला उठेको हात र चरचर फुटेका कुर्कुच्चा हेर्दा मानिसको सहनशीलताको अवस्था देख्न सकिन्छ ।
छातीभरी देशको ममता बोक्ने राष्ट्रिय झण्डाको रङ्गमा उही पसिना र आँसुको नीलो रङ्ग भरिएको कुरा गणेश रसिकको राष्ट्रिय गीतमा सानै बेलामा पढेकाछौं । भत्किएका सडकभरी किरिङमिरिङ रेखाहरू झैं तानतुन गर्दा बन्न गएको नक्साभित्रै आफैं हराउनु पर्दाको पीडा पोखिएको छ । राज्यभित्र बसेका पात्र आफैंले नबुझ्ने गरि बनाइएको नक्सामा नदी नालाको भोगचलनमा व्यथिति, भौगोलिक अवस्था अनि सिमाना भन्दा बाहिरतिर जाँदा आफ्नै अस्तित्व हराउँनुपर्ने विकराल अवस्था निम्त्याएको छ । आफ्नैपनमा सदा गौरव गर्न लायक राष्ट्रिय झण्डालाई कठैवर कतै लत्याएर भुईँ पुछेर फालेको टालोको रुपमा प्रयोग गर्ने दुष्टहरु हातले गर्दा बाँदरको हातमा नरिवल बन्न पुगेको भान पर्दैछ । मानवीय चेतमा पलाएका तुच्छ भावमा रुमलिएका स्वार्थका राजनीतिक चरित्रले उपहास बनाएकाले उनीहरु कुन दिशातर्फ डोर्याइरहेको छन् भन्ने प्रश्न उठेको देखिन्छ ।
जनयुद्धका वेलामा होमिएका र कतै वेपत्ता पारिएकाहरुको अवस्था बारेमा चिन्तन गर्दै कुन नक्सामा हराए वा त्यही दविएका छन् कि भनी सम्झना गराएको छ । राज्यको सत्ता हत्याउन नपाएर बलि बनाइएका सत्र हजार शहिदको रगत जम्मा गर्न नसकेको ब्लड बैंकमा जाँदा फेरी एक पटक पाँचहजार मात्र रहेको जस्ता व्यङ्गात्मक शब्दहरु बुझ्न फेरि द्वन्दकालको दुर्दशालाई पुन: नियाल्नु पर्ने देखिन्छ ।
लघुकथामा कुशल शासकका लागि वीर सन्तान उल्पादन गर्ने आमाहरु जुर्मुराउनु पर्ने भएकाले सुत्केरी आमाको शुभकामना दिनुहुन्छ । मान्छेले आफ्नै आँसु सम्हालेर राख्नु पर्ने अनि तिनै आफ्नो असली साथी हुन् भन्ने साहस, धैर्य बटुल्न मनलाई सम्हाल्न सिकाउने पाठ राख्न चेतना जगाउन सफल देखिनु हुन्छ । जुत्ता जति फाटेपनि मानिसको उत्तरदायित्व र जिम्मेवारीबाट हट्न नसक्ने हुन्छ । त्यस्तै घरझगडा जति गाँसेपनि पतिपत्नीले छोडपत्र दिन नसक्ने व्यवहारिक पक्षलाई उतार्नु भएको छ । गरिबीको चपेटाले थिलोथिलो पारेको समाजमा मिलन विछोडका घटना अनि गाई कि त्रिसुल भन्दै आफ्नै विरामी आमा स्हार्न पनि अनुमति लिनुपर्ने अवस्थाको सृजना हुने समाजको भोगाई देखाइएको छ ।
महाभारतमा पासा खेल्दा हारेर आफ्नै श्रीमती दाउमा राखेर चीरहरणमा लागेका पुरुषहरुलाई नै दाउमा राख्न सक्ने स्त्रीको चरितार्थ उतार्नु चानचुने कुरा होइन । राम्री लाउन खान नपाएर पोइल जाने कुरा सिकाउने छोराको सुझावले पिरोलेको पुस्ताको चेत सम्झेको छ । आफ्नो सामान कहाँ छ भनेर थाहा नभईकन अरुलाई दोष दिने मानिसको विवेकको खाँचो देखिन्छ ।
लघुकथा पढ्दै जाँदा मनमा विभिन्न मानवीय भाव जाग्न सक्ने र कसरी यस्तो भयो भन्ने जिज्ञासा उत्पन्न हुँदा फेरी दोहोर्याएर पढ्न उत्सुक जाग्ने भएकाले शब्द केलाएर निफन्दा आँखा रसिने हुँदा लघुकथा उत्कृष्ट बनेको छ । व्यङ्ग्यात्मक ढङ्गले भरिपू्र्ण लघुकथामा नाथ्रीबाट बगेको रगतको थोपा कसरी निधारतिर गयो भन्ने भान हुन्छ ।
लघुकथाकार सुमन सौरभले रे न्यायिक रुपमा कथालाई सिङ्गो व्यक्ति, परिवार, समाज, पर्यावरण अनि राष्ट्रलाई समेट्दै नौलो रुपमा आकर्षक ढङ्गले प्रस्तुत गर्नुभएको छ । लघुकथा अर्न्तमनको स्पर्शले लेखिएका भाषाको मीठा रसिक, सजीवताको प्रचुरताले भरिएर पात्रहरुको मनोभाव र चरित्र बारे खुल्दुली मेटाउन छुट्टै कलात्मक रुपमा लेख्दा स्रष्टाको आत्मसन्तुष्टि समेत झल्केको छ । समष्टिमा लघुकथाले पढन कार्यमा उत्कृष्ट कृतिको रुपमा चिनाउन सक्नु भएकोमा कथाकारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।







