
बिष्णुदेवी
” बिष्णु.. गन वन, तले वा.. लेयाकन ..” बुढी आमा बिष्णुदेवी(फुपु) लाई झ्यालबाट बोलाइरहनु भएको थियो । दिदी चोकको धारामा गाग्रीमा पानी लिन जानु भएको थियो ।” ए बिष्णु आमालाई ज्वोरो आएको छ मेडिकलमा गएर सिटामोल किनेर आऊ” बिष्णु दिदीका बाले झ्यालबाट दश रुपैंयाको नोट झारिदिनु भएको थियो ।
न्होखा टोलको इतिहासमा पहिलो महिलाबिष्णुदेवी फुपु सचिव पदमा नियुक्त हुनु भएको थियो । त्यो समयमा नेपालको निजामती प्रशासनमा नै पहिलो सचिव हुने एक जना पनि महिलाले त्यो अवसर पाउनु भएको थियो । १२ जना पुरुष सहसचिव र एकजना महिला साथीको प्रतिस्पर्धामा एकैपटक नाम निकाल्न सफल हुनु भएकोले पनि होला दिदीसँग टोलका सबैजना आदरभावले हेर्थे ।
उहाँले यही टोलको कन्यामन्दिर स्कूलमा पनि पढ्नु भएको थियो । नारीहरुको उत्थानको लागि खोलिएको उक्त स्कूलमा पढाउने केशव भट्टराई सरले आफ्नो टोलका नानीहरुलाई शिक्षित बनायो भने नै समाज र परिवार राम्रो हुन्छ भनेर घर घरमा गएर केटाकेटी बटुलेर कृष्ण मन्दिरको पाटीमा कखरा पढाउन शुरु गर्नु भएको थियो ।
सानैदेखि पढ्नमा अति चाख राख्ने बिष्णुदेवी दिदीको घरमा ३ जना बहिनी र २ जना भाई थिए । दिदीले भाइबहिनीलाई विहानै खाना बनाएर खुवाएर स्कूल पठाए पछि मात्र आफू स्कूल जानुपर्थ्यो । आमालाई मुटु र बाथको रोग थियो । बुवा चाँहि दरबारमा मिरसुब्बा हुन्नुहुन्थ्यो सधैं जसो दरबारकै काममा खटिएर जानु पर्थ्यो। कन्या मन्दिरमा आठमा पढ्दा आमा विरामी भएर वीर अस्पतालमा राख्नुपरेकोले दिदीले बिचमै पढाई छोडेर घरको कामकाज गर्नुपरेको थियो ।
दिदी सानैदेखि अति जेहेन्दार र मिहेनत गरेर पत्रपत्रिका तथा अन्य धार्मिक पुस्तक समेत पढ्नु हुन्थ्यो । उहाँको घरमा कसैले पनि पढ्न लेख्न नजानेको हुँदा नेपाली भाषा धेरै नै गाह्रो भएको थियो रे । वि.सं. २०३५ सालमा कृष्णदाईले बिष्णुदेवी दिदीको बुवालाई दिदीलाई पढ्न इच्छा भएकोले स्कूल भर्ना गरिदिन आग्रह गर्नुभएको रहेछ ।
कृष्णदाईले घरमा टियूसन पढाउने भएकोले विष्णुदिदीलाई पढ्न सहयोग गर्नु हुन्थ्यो । उहाँले नजानेका विषयलाई दाईले सिकाई दिनु हुन्थ्यो ,अनि स्कूल जाने बेलामा पनि दिदीलाई आफूसँगै लिएर जानु हुन्थ्यो । कृष्ण दाईले बिष्णुदेवी दिदीलाई अति आदर र सिष्टाचार गरेर बोल्नु हुन्थ्यो । आफू भन्दा दुई बर्षले जेठी दिदी दरबार स्कूलमासँगै पढ्नु भएको रहेछ ।
शनिवारको दिन विहान ९ बजे टोलबासीले दिदीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । टोलमा हुनेखाने विशिष्ट व्यक्तिहरु सोफामा आसिन थिए । वडाअध्यक्ष मिठाराम मानन्धरले बिष्णुदेवीदिदीलाई खादा माला लगाई दिएका थिए अनि स्वयम्भूनाथको मन्दिर दिएर दोसल्ला ओढाई सम्मान गरे ।बिष्णुदेवी दिदीले पनि माइक समातेर आफ्ना बुवाआमा लगायत गुरुहरुको प्रेरणा र कृष्ण दाई प्रति नमन व्यक्त गर्दै कार्यक्रममा भन्नु भयो – ” म जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई सकारात्मक रुपमा आफ्नो पढाई र मिहेनत अनि भाग्यले यो गरिमामय पदमा पुगेको छु । हामीले हाम्रा समाजका वरपरी जन्मिएका भावि सन्तति (छोरी) लाई पनि शिक्षाको उज्यालोबाट बन्चित गराउनु हुँदैन ।उनिहरुले जति पढ्न खोज्छन् पढ्न दिनुपर्छ ।”
छिमेकी लक्ष्मीरामले कृष्णदाईसँग भलाखुसारी गर्दै भने- ” त्यतिबेला स्कूल जान नपाएर बिष्णुदेवी त दिनभरी रोएर बस्थी । पढाई नै छोडेर घरेलु काम गरेर बसेको मान्छे पनि आज हाकिम साहेब बनेर उच्च पदमा पो पुगिछे बा ! मलाई त विश्वास नै लागेको छैन । आइमाई जातको मान्छे पनि आज कति ठूलो पदमा! सचिव पो भइछे ।”







