
कविता
काठमाडौं
राजीव श्रेष्ठ
अस्वीकार गर्न गार्हो परेतापनि
यो एउटा कटु सत्य हो कि,
स्वर्गका देवदेवीहरुको
पवित्र क्रीडास्थल भनेर
चिनिएको यो शहर
अब, मात्रै घना ‘कँक्रिट जँगल’ मा
परिणत भैसक्यो ।
यद्यपि, आकाशबाट खिचिएका
तस्वीरहरु नियाल्यौ भने
हामी स्प्ष्ट देख्न सक्छौ किः
यहाँको वाष्पीकरणमा
बडो रहस्यमय तवरले
वायुमण्डलनै एउटा
चम्किलो चमकमा विलय भैसकेछ !
यो कुनै अनौठो कुरा हैन,
कि अव, ती दिव्य ईश्वर
वास बस्ने मठमन्दिरहरु
मान्छेद्वारा निर्मित
गगनचुम्बी भवनहरुले
पुरै ढपक्क ढाकिसक्यो।
मानव सागरको
पागल भीड
अनि, तिनको बढ्दो ताँती
ती के चीजका पछाडि कुदिरहेका छन ?
तथापि,
ऐतिहासिक धरहरा
कति राजसी ठाँट्सित उभिबसेको छ
ति मानव भीडका
अनेकौ दुष्ट दुष्कर्महरुका
साक्षी बनेर !







