
काठमाडौं। नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको छब्बीसौं श्रृङ्खला २०८२ पुस २५ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा दिवंगत स्रष्टा गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले ऐतिहासिक साहित्यिक पत्रिका शारदाको सङ्ख्या ९ (१९९२) बाट वाचन गर्नुभएपछि अन्य चार जना प्रतिष्ठित कथाकारहरूले २०३० देखि २०७० को दशकमा प्रकाशित आआफ्ना कथा वाचन गर्नुभएको थियो ।
कथाकार राजवले २०३३ सालमा प्रकाशित कथा ‘हाफ क्याबि’ वाचन गर्नुभयो भने कथाकार सीता पाण्डेले २०५६ सालमा प्रकाशित कथा ‘सिँडी’ वाचन गर्नुभयो । त्यसपछि कथाकार दीपक लोहनीले २०६७ सालमा प्रकाशित कथा ‘मनकी मैजु’ वाचन गर्नुभयो । कथावाचन चरणको अन्त्यमा कथाकार रुकु कार्कीले २०६९ सालमा प्रकाशित कथा ‘जीवनको मोडमा’ वाचन गर्नुुभएको थियो ।
कथाकारहरु राजव र सीता पाण्डेले वाचन गरेका कथाहरुबारे प्रा डा भरतकुमार भट्टराईले समीक्षा गर्नुुभएको थियो भने कथाकारहरु दीपक लोहनी र रुकु कार्कीद्वारा वाचित कथाहरुबारे साहित्यकार पबित्रा अधिकारीले समीक्षा गर्नुुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा आयोजकहरुका तर्पmबाट अतिथिहरुको स्वागत गर्दै प्रतिष्ठित कथाकार एवं साहित्यिक अभियन्ता इन्दिरा प्रसाईले यो कार्यक्रममा कुनै एक दिवंगत स्रष्टाको प्रकाशित कथा वाचन गरेपछि मात्र अन्य कथाकारले कथा सुनाउने चलन आपूmलाई अत्यन्त राम्रो लागेकाले ती अन्यत्र कहीँ सुन्न नपाइने असी–नब्बे वर्ष पुराना कथाहरुको लोभले तानिएर नै सकेसम्म नछुटाई आउने गरेको कुरा स्पष्ट पार्नुुभएको थियो । उहाँले दीर्घकालसम्म प्रभाव पार्ने यस्तो सोचका लागि परिकल्पनाकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको जति प्रशंसा गरे पनि नपुग्ने भावना व्यक्त गर्नुुभएको थियो ।
अन्त्यमा अभियानका परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै यस अभियानको आवश्यकताबारे प्रकाश गर्नुुभयो । उहाँले बिभिन्न कालखण्डका कथाकारहरूलाई एकै स्थानमा राखेर फरकफरक दशकमा लेखिएका कथा स्रष्टाकै मुखबाट वाचन गराउने गरिएकाले कार्यक्रमलाई अहिलेसम्म प्राप्त सफलतामा खुशी व्यक्त गर्नुभएको थियो ।
बिगत केही महिनामा भैंm यस पटक पनि उपन्यासकार शुकदेव उपाध्यायले अत्यन्त परिपक्व तरिकाले र आकर्षक ढङ्गमा कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठित साहित्यकारहरु शैलेन्द्र साकार, निर्माेही व्यास, शेखर गिरी, हिरण्यकुमारी पाठक लगायतका कथाकारहरुको उपस्थिति थियो ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । आफ्ना पूर्वप्रकाशित कथा वाचन गर्न इच्छुक सबैलाई नाम दर्ता गर्न आव्हान गर्ने गरिएको छ ।






