कृति : मोदि आइन
विधा : लघु उपन्यास
उपन्यासकार : विश्वेश्वरप्रसाद कोइराला
बहुआयामिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला नेपालका विशिष्ट राजनीतिज्ञ हुन् । नेपाली साहित्यमा उनको योगदान धेरै छ । विशेषत आख्यान विधामा कथा र उपन्यास लेखेर चर्चित छन् । उनका कथा र उपन्यासहरुमा मनोविश्लेषण,यौनमनोविश्लेषणबादी परम्पराको थालनी गर्न पनि उनको योगदान छ । साहित्यलाई राजनीतिभन्दा उच्च मान्ने उनी चेखव,मोपासाँ,टल्सटाय,गोर्की र वर्नार्ड शाह जस्ता लेखकहरुबाट प्रभावित छन् ।
लघु उपन्यास मोदी आइन हजारौं बर्षअघिको महाभारतीय युद्धकथाको विषयवस्तुलाई लिएर लेखिएको छ । उक्त महाभारतको युद्धमा लाखौं एकल महिलाहरुको प्रेतात्मा प्रतिनिधि महिलाको रुपमा मोदिआइन प्रमुख पात्र हुन् । जसमा विचित्रको भाव समावेश गरी प्रस्तुत गरिएको छ । महाभारतकालीन भुइँमान्छेको कथालाई यसमा पढ्न सकिन्छ । उतिवेलाको युद्धको भयानकतालाई एक आम नारीले देखे,भोगेको र अनुभव गरेर कथा पस्किएको छ । यसमा स्वैरकल्पनाको प्रयोग पनि अजिव छ ।
आधुनिक युगको एउटा महागाथा लाग्छ । यो उपन्यासमा मानवतावाद पनि लछप्पे छ ।
नेपाली साहित्यमा दर्जनौ कृति दिएका कोइरालाको मोदिआइन महाभारतको युगमा बस्ने ग्रसर्सकी पत्नीको कथा हो जसले बालकलाई महाभारतको कथा भनेकी छन् । यो पढ्दा उपन्यासकारको युुद्धविरोधी चरित्र पनि थाहा पाउन सकिन्छ । प्रस्तुत कृति साझा प्रकाशन प्रकाशित गरेको हो ।
कृति : आमा नदीहरु
विधा : कवितासँग्रह
कवि : रमेश श्रेष्ठ
कवि रमेश श्रेष्ठ काव्यिक चेतले भरिएका कवि हुन् । सुक्ष्मतर कलात्मक वर्णन कवितामा गर्न सक्षम कवि । अनूभुतिमा भिजेर कलात्मकताको लेपनमा आफ्ना कविता मार्फत सुक्ष्म अभिव्यक्ति दिन्छन् श्रेष्ठ ।
सुन्दर बिम्बहरुले भरिएका,ह्रदयभरिको अनुभुतिको चेतना पर्गेल्ने कविता लेख्न खप्पिस छन् । विशिष्ट चेतले लेखिएका बलशाली कविताहरु छन् आमा नदीहरुमा । राम्रा प्रतिकले भरिएका सुन्दर शब्दमा बुनिएका कविता लेख्न पारंगत कवि रमेशको कवित्वको प्रखर चेतना उनमा झल्किएको छ ।
भावनाको कलात्मक अभिव्यक्तिले भरिएका कविता साँच्चै कोरा शब्दहरुले भरिएका छैनन् । आमालाई बिम्ब बनाउँछन् कहि त कहिं नदीलाई । कविताहरुले सुक्ष्म र कलात्मक वर्णन गर्छन् । कवितामा पात्र मार्फत बोल्छन् उनी । सर्सर्ती हेर्दा चिन्तनप्रधान कविता लहर छ ।
सुन्दर कविताहरुले भरिएको कृति आमा नदीहरु पठनीय छ ।
कृति : गौँथलीको गुँड
विधा : कथा
कथाकार :शङ्कर लामिछाने
लामिछाने निबन्धमा चर्चित नाम हो । यसो भन्दै गर्दा कथामा पनि उनी जमेका छन् । कथामा लामिछानेले नयाँ प्रयोग गर्न रुचाएका छन् । प्रस्तुत कृतिभित्र १३ वटा विषयगत विविधताका कथाहरु परेका छन् विज्ञानका कथाले उनलाई कथाकारको रुपमा चिनाएको छ । कथामा संवेदनशीलता छ । सम्बन्धका आयामहरु पनि छन् । यसमा समावेश भएको माया नं. ६५३ लाई पहिलो विज्ञान कथा मानिएको छ ।
निबन्धकारको रुपमा पहिचान बनाएर स्थापित भएका लामिछाने चेतना प्रवाह शैलीका धनी मानिन्छन् । निबन्धका लेखनीका अब्बल उनको अद्र्धमुदित नयन र डुब्न लागेको घाम निबन्ध कथा जस्तो लाग्छ । यसैगरी भविष्यकालको ब्याकरणलाई लिएर म भोली जन्मनेछु कथा लेखिएको छ। यो कथा सत्य घट्नामा आधारित भएको उनले बताएका थिए ।
गौँथलीको गुँडभित्रका कथाहरु मध्यम कदका छन् । सरल छन्। दुर्बोध्य लाग्दैनन् । नयाँ प्रस्तुतीमा पाठकको मन खिचिन्छ । उनका भोगाइ,उतिवेलाका परिवेशको गन्ध आउँछ ।
साहित्यमा प्रयोगधर्मिता मन पराउने लामिछाने जहिल्यै नयाँ नयाँ प्रयोग गर्न खोज्थे । जम्मा ४८ बर्षको अल्पायु बाँचेर पनि नेपाली निबन्ध,कथा लगायतका क्षेत्रमा उनले योगदान गरे ।