
लघुकथा
एकादेशको कथा
रत्न प्रजापति
जनयुद्ध चल्दै थियो । छिरबिरे पोशाक लाउने र काँधमा बन्दुक बोक्नेहरू गाउँमा आउँदै–जाँदै गर्थे । कहिले लुक्दै आउँथे । कहिले दिनदहाडै आउँथे र गाउँलेका छोराछोरीलाई कि मारेर जान्थे कि लिएर जान्थे । यसरी गाउँलेका कति छोराछोरी मारिए, कति गाउँबाट हराए ।
एक दिन धनबीर साहुको घरमा पनि छिरबिरे पोशाक लाउने र काँधमा बन्दुक भिर्नेहरूको एक जत्था आए । आँगनमा बसेर ‘धनबीर साहु ! धनबीर साहु ! भन्दै दुई तीन चोटि बोलाए । गाउँमा माओवादी आए भन्ने पहिल्यै थाहा पाएर घरभित्रै लुकेका धनबीर साहु जत्ति बोलाए पनि बाहिर निस्केनन् । लगाएको ढोका खोल्दै खोलेनन् ।
माओवादीहरूलाई खपिनसक्नु रिस उठ्यो । बन्दुकको कुन्दाले हानेर ढोका फोरे र भित्र पसे । भकारीभित्र लुकेका धनबीर साहुलाई लछारपछार पार्दै आँगनमा ल्याए । काट्नुअघिको बोकालाई झैं एक बाल्टिन पानी टाउकोबाट खन्याए । धनबीर साहुको जिउ डरले बोका पर्सिएझैं थरर्र काम्यो । त्यहीबेला एउटा माओवादीले ‘तैँ होइनस् गाउँको शोषक’ भन्दै खुँडाले प्रहार गरिहाले । धनबीर साहुको टाउको एकातिर र जिउ अर्कोतिर भयो ।
नजिकै आँगनमा बाँधिराखेको बाख्री डरले आँत्तिएर ‘म्या…’ गरेर कराई ।
माओवादी गए । घरभित्रका मान्छे बाहिर निस्किए । आँगनमा धनबीर साहुको लाश देखेर आलापविलाप गरेर रोए, ‘माओवादीले मारे… ’। आँगनमै धनबीर साहुको रगतसँगसँगै उनको परिवारको आँसुको खोलो बग्यो ।
माओवादीले धनबीरमात्रै होइन, अरू पनि धेरैलाई यसैगरी मारे । माओवादीसँग गाउँ थर्कमान भयो । मान्छेले माओवादीलाई मान्छे मार्दै हिँड्ने भनेर चिने ।
समय बित्दै गयो । जनयुद्ध सकियो । राजनीतिमा परिवर्तन भयो । शासन परिवर्तन भयो र सरकार पनि परिवर्तन भयो । केही हदसम्म देशमा शान्ति पनि आयो ।
धनबीर साहुको व्यापार उनैका छोरा मनवीरले समाले ।
दशैं आयो । दशैंसँगै मनवीरको घरमा नयाँ कार पनि आयो र खुसियाली छायो ।
घरका परिवार सबै भेला भए । आँगनमा एउटा ठूलो खसी उभ्याए । खसीको टाउको र जिउमा पानी खन्याए, पर्साए र खुँडाले छ्याक्क पारे ।
आँगनको छेउमा बाँधिराखेको बूढी बाख्रीले यो सबै दृश्य हेरिरहेकी थिई । माओवादीले धनबीरलाई यसैगरी खुँडाले काटेर मारेको दृश्य बूढी बाख्रीको आँखामा झल्झली आयो । बूढी बाख्रीले मनमनै भनी – आखिर यिनीहरू पनि त माओवादी नै रहेछन् नि । आफ्नो सन्तानलाई त्यसरी निर्ममतापूर्वक मारेको देखेर बूढी बाख्रीको मनमा भक्कानो फुट्यो । बुढी बाख्रीले मनलाई थाम्नै सकिन र जोडले कराई, ‘म्याओ…वादी ।’
बूढी बाख्रीको बदलिएको आवाज सुनेर मान्छेहरूले छक्क परेर ऊतिर हेरे । ‘हैन, आज यो बूढी बाख्रीको आवाज कसरी परिवर्तन भयो हँ ?’
मान्छेहरूले बूढी बाख्रीको पीडाको आवाजलाई बुझ्न सकेनन् ।







